ओलीले म्वाइँ खाए पनि बिष लाग्छ, भरतपुरबाट अब स्यालहरू भाग्छन् : राजेन्द्र श्रेष्ठ

भरतपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता एवम् सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले केपी ओलीले म्वाइँ खाँदा पनि बिष लाग्ने बताएका छन् ।

बिहीबार भरतपुरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले केपी ओलीले दुध खाँदा पनि बिष लाग्ने बताए । उनले भने, ‘कतिपय युवाहरू भ्रममा छन् । आईलभ यु केपी बा भन्छन् । सर्पले दुध खाए पनि बिष लाग्छ । केपीले म्वाई खाए पनि बिष लाग्छ ।’

‘केपी ओलीको प्रतिगमन विरोधी जहरलाई चिर्नुछ । ओलीले फैलाएको लोकतन्त्र र संघीयता विरोधी जहर चिर्नुछ’, नेता श्रेष्ठले भनेका छन् ।

जसपाका नेता श्रेष्ठले केपी ओली कुरौटे शिरोमणि रहेको बताएका छन् । उनले भने, ‘हुँदाहुँदा केपी ओलीले सगरमाथामा धान फलाउँछु भन्न पनि बेर लगाउँदैनन् ।’

केपी ओलीले सडकमा विमानस्थल बनाएर जहाज अवतरण गर्छु भनेको कुरा स्मरण गरेका नेता श्रेष्ठले कुरौटे ओलीको कुराहरूमा विश्वास नगर्न आग्रह गरेका छन् ।

जनताले विश्वास गरेर केपी ओलीलाई झण्डै दुईतिहाई बहुमत दिएको बताएका श्रेष्ठले ओलीले संसद दुई–दुई पटक विघटन गरेर अधिनायकवाद लाद्न खोजेको बताए ।

‘केपी ओलीलाई प्रधानमन्त्री बनाएर विरालोलाई साँक्षी राखे जस्तो भयो । विरालाले सबै दुध खाइदिन्छ’, उनले भने, ‘ओलीले संविधान, संघीयता खान खोजेपछि यो गठबन्धन बनायौँ ।’

जसपाका नेता श्रेष्ठले भरतपुरका स्यालहरू भाग्ने बताएका छन् । ‘बाघहरू गर्जिएपछि स्यालहरू भाग्छन् । मित्रसेनजीहरू गर्जिएपछि स्यालहरू भाग्छन् ।’

Published : Thursday, 2022 May 5, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया