मधेससँग सम्प्रदायिक खेल नखेल्न केशव स्थपितलाई कांग्रेस नेताहरूको चेतावनी
काठमाडौं । एमालेका नेता एवम् काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मधेसी जनताको सम्मानमा चोट पुग्ने गरेर हर्कत गरेपछि विरोध भएको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको बताएका छन् ।
पौडेलले साम्प्रदायिक घृणा र ध्रुवीकरणको घिनलाग्दो खेल नखेल्न स्थापितलाई आग्रह गरेका छन् ।
केही दिनअघि स्थापितले स्वतन्त्र उम्मेदवार बालेन साहमाथि पहिचान लुकाएको आरोप लगाएका थिए ।
त्यसतर्फ लक्षित गर्दै पौडेलले स्थापितलाई चुनावी फन्डा नगर्न भनेका छन् ।
‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ’, पौडेलले भने, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो ।’
पौडेलले भने, ‘केशव स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो । शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौंको सेवा गरिसक्नु भएको हो ।’
उनले भने, ‘त्यतिले नपुगेर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो । अहिले अचानक अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी फण्डा गरिरहनुभएको छ ।’
कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले पनि केशव स्थापितको अभिव्यक्तिको आलोचना गरेका छन् । मधेसी जनताको अपमान हुने गरेर स्थापितले दिएको अभिव्यक्तिले मधेसको आत्मसम्मानमा चोट लागेको डा.अन्सारीले बताए ।
काठमाडौंका केही व्यक्तिहरूको अहँकारले गर्दा मधेसी जनता काठमाडौं उपत्यका भित्र सधैँ डर र त्रासमा बस्नु परेको डा.अन्सारीले बताए । स्थापिटले माफी माग्नुपर्ने पनि डा.अन्सारको माग छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया