चुनावी तालमेलले कांग्रेसलाई फाइदा पुग्छ : डा.प्रकाशशरण महत

सूर्यगढी । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशरण महतले सत्तारूढ दलहरूबीच स्थानीय तहको चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गरेका छन् ।

बिहीबार नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने बताए ।

उनले उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पंक्तिलाई आग्रह गरेका छन् ।

‘दलबीचको एकता अहिलेको आवश्यकता हो’, डा.महतले भने, ‘अवस्था अफ्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौं ।’

‘यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरूबीच गठबन्धन र तालमेल गर्न लागिएको हो’, डा.महतले भनेका छन् ।

स्थानीय तहको निर्वाचनमा दलबीच हुने तालमेलले पार्टीबाट उम्मेदवार संख्या कम हुँदा पदको भाग नआउला भनेर पदीय आकांक्षीलाई पार्टीले उठाएको र समर्थन गरेको उम्मेदवारलाई मत दिनुपर्ने उनको भनाइ छ ।

पार्टीले उठाएका उम्मेदवार आफ्नै पार्टीको वा अर्को पार्टीको भए पनि विश्वासघात नगरी समर्थन गरेको उम्मेदवारलाई विजय गराउनका लागि परिचालन हुन उनले निर्देशन दिएका छन् ।

Published : Thursday, 2022 April 7, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया