बागलुङमा सुरक्षा निकायका प्रमुखहरूको बैठक, पोखरेलद्वारा विशेष निर्देशन

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भएरहित तरिकाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

बुधबार बागलुङमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा पोखरेलले जिल्लाको अवस्थानुसार सुरक्षा योजना बनाउन सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

४ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार निर्वाचनमा तयारी अवस्थामा रहेको बताए ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।

मुख्यमन्त्री पोखरेलले भने, ‘निर्वाचनमा कति बेला कहाँ के हुन्छ ? भन्न सकिँदैन, त्यहीअनुसार गम्भीरतापूर्वक कार्य योजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्छु ।’

निर्वाचन आयोग र केन्द्र सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकारले समन्वय गरेर अगाडि बढ्ने पोखरेलले बताएका छन् ।

सो अवसरमा ४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षा र चुनौती अनि समस्याका बारेमा प्रस्तुति राखेका थिए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी राना, मुस्ताङका नेत्रप्रसाद शर्माको प्रस्तुतिमा उठेका विषयवस्तुमाथि छलफल गरिएको थियो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 April 6, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया