सिन्धुपाल्चोकमा कांग्रेसका बाक्लै कार्यक्रमहरू, बस्नेत सहभागी, विभिन्न समितिहरू गठन

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीको नयाँ कार्यालयको उद्घाटन गरेका छन् ।

चौतारास्थित एउटा घरलाई भाडामा लिएर पार्टी कार्यालय स्थापना गरिएको सभापति जंगबहादुर लामाले जानकारी दिए । नेता बस्नेतले मंगलबार नयाँ पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लामा कांग्रेसको आफ्नै भवन छैन । भवन बनाउन कांग्रेसको नयाँ नेतृत्वले पहल पनि थालेको छ ।

यसैबीच, सिन्धुपाल्चोक कांग्रेसले संसदीय दल, कार्यसम्पादन समिति, अनुशासन समिति, गठबन्धनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको सभापति लामाले बताए ।

वार्ता टोलीको संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत रहेका छन् । समितिको सदस्यमा पूर्वकेन्द्रीय सदस्य विक्रमबहादुर थापा र पूर्वसभापति विकास लामा रहेका छन् ।

गठन्धन गर्नका लागि अर्को पनि समिति गठन भएको छ । सभापति लामाको संयोजकत्वमा समिति बनाइएको छ । सो समितिको सदस्यमा पदाधिकारीहरू छन् । समितिमा वंशलाल तामाङ पनि छन् ।

यी दुबै समितिले सिन्धुपाल्चोकमा गठबन्धन गर्ने विषयमा अन्य दलहरूसँग वार्ता र सम्वाद गर्नेछन् ।

अनुशासन समितिको सभापति टंक कार्की छन् । प्रचार समितिको संयोजक रमेशराज भण्डारी रहेका छन् । भण्डारी जिल्ला कार्यसमितिका सचिव पनि हुन् ।

उता, बुधबार सुनकोशी गाउँपालिकाको सुनखानी डाँडामा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’को कार्यक्रम भएको छ ।

कार्यक्रमलाई केन्द्रीय सदस्य बस्नेतले सम्बोधन गरेका छन् । उनले कांग्रेसका उम्मेदवारहरूलाई जिताउन मतदाताहरूसँग आग्रह गरेका छन् ।

कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकमा जिताउन नेता बस्नेत आफै खटिएका छन् । दैनिक सरह भइरहेका कार्यक्रमहरूमा बस्नेत आफै पुगेर सम्बोधन गर्ने गरेका हुन् ।

नेता बस्नेत सानाभन्दा साना कार्यक्रममा पनि आफै उपस्थित भएर मतदाताहरूका कुरा सुन्ने गरेका छन् ।

Published : Wednesday, 2022 April 6, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया