श्रीलंकालाई सहयोग गर्न कांग्रेस नेता डा.अन्सारीको आग्रह, कन्सुलरसँग भेट

काठमाडौं । औषधि व्यवसायी समेत रहेका नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले नेपालका लागि श्रीलंका राजदूतबासकी कन्सुलर बी.निलुसा दिलमिनीसँग भेट गरेका छन् ।

बुधबार काठमाडौंस्थित श्रीलंकाको राजदूतावासमा भएको भेटमा डा.अन्सारीले कन्सुलर निलुसासँग श्रीलंकाको आर्थिक संकट र समस्यालाई दक्षिण एसियाली मुलुकहरूले सम्बोधन गर्नुपर्ने बताए ।

डा.अन्सारीले श्रीलंकामा रहेको औषधिको समस्यालाई नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन् । श्रीलंकाको राजदूतावासबाट अभाव भएका औषधिको सूची प्राप्त भयो भने नेपालका औषधि उद्योगी व्यवसायीहरूसँग औषधि संकलन गरेर श्रीलंका पठाउन सकिने डा.अन्सारीले बताएका छन् ।

अफगानिस्तानमा संकट परेका बेला नेपाल सरकारले सहयोग गरेको उल्लेख गरेका डा.अन्सारीले श्रीलंकाको संकट समाधान र सहयोगका लागि नेपालीले पनि ध्यान दिनुपर्ने बताएका छन् ।

चीनसँगको सम्बन्धका कारण श्रीलंका टाँटपल्टिने अवस्थामा पुगेको छ । विदेशी मुद्राको सञ्चिती अभावले श्रीलंकामा आर्थिक समस्या भएको छ ।

Published : Wednesday, 2022 April 6, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया