खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापनमा भारतले ४ करोड दियो

काठमाडौं । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाबल्हामु गाउँपालिका, सोलुखुम्बुबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

नेपाल र भारत विकास सहकार्यअन्र्तगत भारत सरकारको करिब नेरु ४ करोड ११ लाख आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ ।

परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरूमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।

४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनाहरूलाई अघि बढाइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Published : Wednesday, 2022 April 6, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया