ओलीले ‘सूर्यकुमारी’ भित्र्याएपछि भुवन केसीले एमाले छाडे

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ‘सूर्यकुमारी’ एमालेमा भित्रिएको तीन हप्ताभित्रै अभिनेता भुवन केसीले एमाले पार्टी छाडेर नयाँ पार्टीमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले तामझामका साथ सूर्यकुमारीलाई पार्टीमा भित्र्याएपछि असन्तुष्ट बनेका केसी पार्टी छाडेर कुनै हैसियत नरहेको पार्टीमा प्रवेश गरेर एमालेलाई जिल पारिदिएका छन् ।

अभिनेता केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टी (उलोपा) मा प्रवेश गरेका हुन् । एमाले छाडेर उलोपामा प्रवश गरेसँगै अभिनेता केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने भएका छन् ।

काठमाडौंमा मंगलबार बसेको उलोपाको केन्द्रीय कार्यसमितिको बैठकले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरेको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।

अध्यक्ष नेपालले काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको बताए ।

केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी दिइएको छ ।

उलोपाले काठमाडौंको उप–मेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । लामा थापाथलीस्थित सुकुम्बासी बस्तीकी हुन् ।

Published : Wednesday, 2022 April 6, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया