ऋषि धमलाको अहँकार चकनाचुर पार्ने गरेर कारबाही शुरु,काउन्सिलले २४ घण्टे पत्र थमायो

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई सो टिभीबाट चैत २० ‘जनता जान्न चान्छन्’ कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाउँदै २४ घण्टे स्पष्टीकरण सोधेका हो ।

कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमानभित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा सहभागी भएका धमलाले विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरूले सेक्युरिटी प्रोटोकल विपरीत यसो नगरिनिुस्, यसो गर्न मिल्दैन भन्दाभन्दै पनि बलजफ्ति जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको सो अनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

केही समयअघि सञ्चारकर्मी धमलाले नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको स्वअनुगमनबाट नोटिममा लिइएको अमुगमन अधिकृत सुरेन्द्र मल्लले उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ,‘पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ ।’

‘सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ?’, काउन्सिलले प्रश्न गरेको छ, ‘त्यहाँबाट पटक–पटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो ?’

‘पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ’, पत्रमा भनिएको छ ।

नेपाल पत्रकार महासंघले पनि सञ्चारकर्मी एवम् सञ्चार व्यवसायी धमलाको हर्कतको विरोध गरेको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर पत्रकार आचारसंहिता विपरित प्रोटोकल उल्लंघन गरेर निषेधित क्षेत्रमा जवरजस्ती प्रवेश गरी दृष्य खिचेर प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ ।

Published : Wednesday, 2022 April 6, 12:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया