दुईतिहाईको कम्युनिस्ट सरकार भ्रष्टाचार गरेर विफल भएपछि कांग्रेस नेतृत्वमा आयो : भट्टराई

आँबुखैरेनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तत्कालीन दुईतिहाईको कम्युनिष्ट सरकारले काम नगरेर भ्रष्टाचारमा लिप्त भएपछि नेकपाले नै सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिएको बताएका छन् ।

गृहजिल्ला तनहुँको आँबुखैरेनी–५ घुमाउनेमा सोमबार पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित पार्टी कार्यालयको उद्घाटन गर्दै नेता भट्टराईले दुईतिहाईको कम्युनिस्ट सरकार असफल भएपछि कांग्रेसले सत्ताको नेतृत्व गरेको बताए । उनले कांग्रेस नेतृत्वको सरकारले जनताको काम गर्न शुरु गरिसकेको बताएका छन् ।

उनले देशको विकास विगतमा पनि कांग्रेसले नै गरेको भन्दै अब बीचमा रोकिएको विकासले गति पाउने बताए ।

एमसीसी सहायता विकासकै लागि भएको भन्दै नेता भट्टराईले बिजुली बेचेर धनी बन्नका लागि श्रोत चाहिएको बताए । अमेरिकाले एमसीसीमार्फत नेपाललाई अनुदान दिएकाले लिएको उनले बताएका छन् ।

‘हामीसँग पर्याप्त पैसा छैन, ऋण लिनुभन्दा सहयोग लिनु फाइदाजनक छ’, उनले भने, ‘सक्षम नहुँदासम्म विदेशी सहयोग चाहिन्छ ।’

नेता भट्टराईले कांग्रेसकै पालामा तनहुँको विकट भेग जोड्ने बुद्धसिंह मार्ग निर्माण भएको बताए । उनले बुद्धसिंह मार्गमा पुल बन्ने काम पनि शुरु भएको बताएका छन् ।

उनले भने, ‘बुद्धसिंह मार्ग सडकलाई कालोपत्र गर्नका लागि पहल गर्नेछु । छिछै काम शुरु हुनेछ ।’

कार्यक्रममा पार्टी गाउँ कार्यसमितिका सभापति विष्णु पन्थ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, चिजा श्रेष्ठ, वडा सदस्य जीतमान गुरुङलगायतले बोलेका थिए ।

यसअघि, देवघाटमा आयोजित पार्टीको गाउँ भेलामा बोल्दै भट्टराईले भूमिहीनको समस्या समाधान विगतमा पनि कांग्रेसले काम गरेको बताएका छन् ।

उनले अहिले गठित आयोगले समस्यामा परेका भूमिहीनलाई जग्गा दिने बताएका छन् ।

उनले देवघाटको अव्यवस्थित बसोबासी र भूमिविहीनको लालपूर्जा दिन कांग्रेस तयार रहेको बताएका छन् ।

Published : Tuesday, 2022 April 5, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया