एमालेलाई घिसारेर हामीले बहुदलवादी बनाएका हौं, ओलीजी कांग्रेसलाई धन्यावाद दिनुस् : खतिवडा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेले कांग्रेसको सिद्धान्त लिएका कारण केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् ।

सोमबार धनकुटाको छथर जोरपाटी– ५ मा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सम्बोधन गर्दै खतिवडाले एमाले भन्ने पार्टीले निर्दललाई भोट दिएको आरोप लगाएका छन् । कांग्रेसले बहुदल मान्ने बनाएपछि एमालेले बहुदल मानेको बताएका खतिवडाले केपी ओलीले कांग्रेसलाई धन्यावाद दिनुपर्ने बताएका छन् ।

‘हिजो कानूनी शासन मान्दैन भन्ने साथीहरू लुकेर आउनु पर्‍यो । एमाले भन्ने पार्टीले कहिल्यै पनि बहुदलीय व्यवस्थालाई स्वीकार गरेन’, उनले भने, ‘०३६ सालमा निर्दलमा भोट हाल्यो ।’

उनले भने, ‘त्यही पार्टीका साथीहरू हामीले लिएको सिद्धान्तमा आएर आज प्रधानमन्त्री बन्ने अवसर कांग्रेसले दिएको हो ।’

‘कमरेड केपी ओलीलाई यो मानेमा धन्यावाद दिन चाहन्छु आज कांग्रेसले लिएको सिद्धान्तमा जनताको मतबाट चुनाबबाट माथि जान पाउँछ भन्ने सिद्धान्त स्वीकार नगर्नु भएको भए, तपाई आज कुन जेलमा बसिरहनु हुन्थ्यो कांग्रेसको सिद्धान्तलाई स्वीकार गरेर प्रधानमन्त्री बन्ने मौका पाउनुभयो’, खतिवडाले भने, ‘त्यसैले ओलीजी तपाईले कांग्रेसलाई धन्यावाद दिनुपर्छ ।’

‘३० वर्षसम्म एमालेका साथीहरूले धनकुटामा जितेर राज गर्नुभएछ’, उनले भने, ‘एमालेका साथीहरूले जितेर जाँदा धनकुटाका जनताको मुहारमा हँसिलो मुहार आउँछ, बाटो बन्नेछ, बिजुलीको खाँचो कहिँ हुने छैन भन्ने ठानेको थियो । यहाँ कहीँ काम गरेको देखेन । विकास गरेको थियो भने सूर्यबहादुर थापाले गरेको मात्रै देखियो । कांग्रेसले गरेको देखियो । एमालेले केही गरेको रहेनछ ।’

नेता खतिवडाले धनकुटामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा र केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठले विकास गर्न सक्ने बताए । थापा र श्रेष्ठको नेतृत्वमा धनकुटामा कांग्रेसलाई जिताएर गाउँको विकास गर्नुपर्ने उनले बताए ।

‘सुनिलबहादुर थापाले कोरोनाका बेला हेलिकप्टरबाट स्वास्थ्य सामग्री लिएर आउँदा एमालेहरू हेलिकप्टर कब्जा गर्न गए’, खतिवडाले भने, ‘एमाले भनेको आफू पनि नगर्ने, अरुलाई पनि गर्न नदिने पार्टी हो ।’

‘किसान मार्नेहरू किसानको पार्टी रे । ओलीको सरकारका बेला सबैभन्दा धेरै मजदुरले दुःख पाएका थिए’, खतिवडाले भने, ‘एमालेको सरकार जनताको पक्षमा कहिल्यै लागेन । सधैँ भ्रष्टाचारमा डुब्यो । ओम्नी काण्ड गर्‍यो ।’

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले कम्युनिस्टले धनकुटामा अत्याचार गरेको बताए । उनले कम्युनिस्टहरू भ्रष्टाचारमा लिप्त भएर जनताको काम नगरेको आरोप लगाएका छन् ।

कार्यक्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई खतिवडासहित नेताद्वय थापा र श्रेष्ठले पनि नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

Published : Monday, 2022 April 4, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया