सीमा विवाद टुंगो लगाऔँ भन्ने कुरा नेपालले प्रस्ताव गरेको छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकदमै सफल भएको बताएका छन् ।

सोमबार अन्तर्वार्ताका क्रममा डा.महतले भ्रमणका क्रममा अत्यन्तै उपयोगी वार्ता भएको बताएका हुन् । उनले धेरै समझदार भएको उल्लेख गरेका छन् ।

‘नेपालले उठाउनुपर्ने जति पनि विषय थियो, प्रधानमन्त्रीले सबै विषयको उठान गर्नुभयो । त्यो विषयमा थप वार्ता गर्ने, छलफल गर्ने र निष्कर्ष निकाल्ने एउटा पूर्वाधार पनि बनेको छ’, उनले भनेका छन् ।

‘यसभन्दा अगाडि केपी ओलीजी सत्तामा हुँदासम्म उठेन नि ? अहिले हामीले यसलाई गम्भीरताका साथ उठायौँ । यद्यपि अहिले भारत सरकारले तत्काल त्यस विषयमा प्रतिक्रिया दिएको छैन’, उनले भने, ‘यो विषयलाई वार्ताको विषय बनाउने कुरामा मोटामोटी त्यो दिशातर्फ अगाडि बढेको छ । त्यो संकेतहरू प्राप्त भएको छ । कमसेकम कुटनैतिक वार्ताको माध्यमबाट यसलाई टुंगो लगाउने बाटोमा नेपालले जुन अग्रसरता लिएको छ, ढिलोचाँडो यो विषयले प्राथमिकता पाउँछ । ढिलोचाँडो यसको उपाय पनि निस्कन्छ ।’

‘सीमा विवाद आजको भोलि समाधान विषय होइन । द्विपक्षीय सम्बन्धलाई सक्रिय बनाऔं । यसको टुंगो लगाऔँ भन्ने कुरा नेपालले प्रस्ताव गरेको छ’, पूर्वपरराष्ट्र मन्त्री समेत रहेका प्रवक्ता डा.महतले भने, ‘मलाई लाग्छ त्यो संयन्त्र चाँडै एक्टिभ हुन्छ । कुरा अगाडि बढ्छ ।’

‘सीमा विवाद समाधान गर्न कुटनीतिक माध्यमबाट समाधान हुने हो । ढिलोचाँडो अगाडि बढ्छ । सीमा समस्या सधैँको लागि अन्त्य गर्नुपर्छ’, उनले भनेका छन् ।

कांग्रेस प्रवक्ता डा.महतले भारतीय जनता पार्टीको मुख्यालयमा प्रधानमन्त्री देउवा गएर कुनै गल्ती नगरेको बताएका छन् ।

‘विजेपीको मुख्यालयमा गएर कुनै गल्ती भएको छैन । सद्भावना भ्रमण हो । विजेपीको कार्यालयमा गएर निरीक्षण गर्ने, पार्टी कसरी चलेको छ ? पार्टी टू पार्टीको सम्बन्ध जुन हाम्रो पार्टीको छ, नेपालबाट नेतृत्व गरे म गएको थिएँ, उताबाट पनि विदेश विभाग प्रमुख आउनुभएको थियो’, उनले भनेका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवा हाम्रो पार्टी सभापति पनि हुनुहुन्छ । उहाँहरूले निमन्त्रणा गरेको अवस्थामा त्यहाँ जानु स्वभाविक छ’, डा.महतले भनेका छन्, ‘पार्टी कार्यालयमा एउटा पार्टीको सभापति जाँदा कुटनैतिक मर्यादा कम हुने भनेर कुन ब्याख्याता हो ? मैले बुझ्न नसकेको कुरा ।’

‘भ्रमण हुँदा विभिन्न ठाउँमा गइन्छ । मन्दिर गइन्छ, समाधीस्थल गइन्छ, पार्टी कार्यालय गइन्छ । अरु महत्वपूर्ण स्थानमा पनि गइन्छ । त्यसबाट मर्यादा घट्छ र ?’, उनले प्रश्न गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिगारेको भारतसँगको सम्बन्धलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन् ।

सीमा विवादको विषय मिलाउन देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । मोदीले तत्काल कुनै जवाफ नदिए पनि सीमाका विषयमा आइस ब्रेक भएको छ ।

Published : Monday, 2022 April 4, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया