संसद विघटन गर्ने ओली र सांसद अपहरणकारी बसेको भक्तपुरमा कांग्रेसले जित्नुपर्छ : बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले सांसद अपहरण गर्ने पार्टीका नेता र नेमकिपा जस्ता पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएका कारण गठबन्धन आवश्यक रहेको बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित कांग्रेसको कार्यक्रमहरूलाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुरका केही वडामा कांग्रेसले चाहेर पनि जित्ने अवस्था नरहेको बताए । उनले त्यस्ता वडामा गठबन्धन गरेर एमाले र नेमकिपालाई हराएर कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

‘भक्तपुरमा नारायणमान विजुक्छेको नेमकिपा छ । नेपाली कांग्रेसको भ्रातृ संगठन जस्तो । नेमकिपालाई गिरिजाबाबुले जहिले पनि छोडिदिने । हामीले जहिले पनि छाडिदिएको हो’, बस्नेतले भने, ‘उहाँको क्रियाकलाप पनि हामीले देखिसकेका छौँ । अब गठबन्धन गरेर हामीले जित्ने हो ।’

बस्नेतले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाका सबै चुनावमा पटक कांग्रेसले जिताउनुपर्ने बताएका छन् ।

‘कांग्रेसका उम्मेदवारले जित्नु पर्छ’, उनले भने, ‘भक्तपुरमा केही वडामा जित्नै नसक्ने अवस्थामा छौँ । त्यसमा जित्न पनि गठबन्धन गर्नुपर्छ ।’

केन्द्रीय सदस्य बस्नेतले भने, ‘भक्तपुरमा एमालेका पार्टी अध्यक्ष केपी ओली बस्नु हुन्छ । यही ठाउँमा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेत बस्नु हुन्छ । एउटा भ्रातृ संगठनको अध्यक्ष भइसकेको व्यक्ति ।’

‘केपी ओलीका हिजोको दिनमा हामी सहयात्री भएर काम गरेको हो । कांग्रेस र एमाले सहयात्री भएरै माओवादीलाई द्वन्द्वबाट फर्कायौँ’, उनले भने, ‘चुनावमा जित र हार हुन्छ । हार्दा जनता र संविधान हार्नु हुँदैन ।’

‘केपी ओलीको दुईतिहाई बहुमत आयो । दुई वर्षको समयमा केपी ओलीका कारण जनता हार्ने अवस्था आइसकेको थियो’, उनले भने, ‘जनता हार्ने अवस्था भयो । संविधानलाई धुजाधुजा पार्न खोजियो । संविधानलाई थिच्ने र मिच्ने काम भयो । केपी ओली सरकारभन्दा बाहिर हुनुहुन्छ ।’

बस्नेतले भने, ‘केपी ओलीलाई हरियो देखेपछि डर लाग्दो रहेछ । मत पत्र हरियो बन्दो रहेछ । डराएर बिछट्टै भएको छ । हामी रातो रंग देखेर डराउँदैनौँ । हामीलाई रातो रंग मन पर्छ ।’

‘महेश बस्नेतजी मन्त्री भइसकेको व्यक्ति । उहाँ लकडाउन भएको बेलामा प्रहरीको पूर्वआईजीलाई लिएर सांसद अपहरण गर्न जानुभएको थियो’, कांग्रेसका नेता बस्नेतले भनेका छन् ।

उनले एमसीसी ल्याउने निर्णयमा सबै प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका छन् ।

‘कांग्रेसले एमसीसी ल्याउन नेतृत्व गरेको छ । एमसीसी राष्ट्रघाती होइन’, उनले भने, ‘कांग्रेसले राष्ट्रघाती काम गरेको छैन ।’

Published : Sunday, 2022 April 3, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया