झुठ बोलेर दिउँसै रात पार्ने ओलीजी सूर्यकुमारी खोज्दै हिँड्नुभएको छ : रामहरि खतिवडा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्ना पार्टीका साथीहरूलाई लखेटेर केपी ओलीले सूर्यकुमारी खोज्दै हिँडेको भन्दै दुईतिहाई जनमतको अपमान गर्नेहरूलाई भोट नदिन आग्रह गरेका छन् ।

शनिबार धनकुटामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै खतिवडाले ६ महिनामा २ पटक संसद विघटन गर्ने एमाले र केपी ओलीहरू जनतासँग कुन मुख लिएर भोट माग्न आउँदैछन् भनेर प्रश्न गरेका छन् । उनले जनताले दिएको झण्डै दुईतिहाई बहुमतलाई चौबाटोमा लगेर फालेर ओली र एमालेहरू उत्तानो परेको बताए ।

‘कम्युनिस्टलाई दुईतिहाइ दिनुभयो साढे तीन वर्षमा नपुग्दै चौबाटोमा ल्याएर आफ्नै सरकार फाले । फेरि भोट माग्न आउँदैछन्’, उनले भने, ‘फेरि के भनेर भोट दिने ? फेरि भोट माग्न आउने रे ? को माग्न आउने ? केपी ओली आउने रे ?’

उनले भने, ‘संसदमा दुईतिहाई बहुमत दिँदा छ महिनामा दुई पटक संसद बिघटन गर्ने, संसद चाहिएन है भन्ने फेरि संसदका लागि जनताको सेवा गर्नको लागि भोट चाहियो भन्दै आउने, के सेवा गरे ? तपाईहरूले देख्नुभयो । उनीहरू बाटो बनाउने भनेर रुख काट्छन्, हामी रुख बचाएर बाटो बनाउँछौं । रुख काट्नेलाई भोट दिने कि बाटो बनाउनेलाई ?’, खतिवडाले भनेका छन् ।

‘केपी ओली कहिँ पनि केही नपाएर सूर्यकुमार खोज्दै हिँडेका रहेछन् । सूर्यकुमारी रे नाम ! आजसम्म के–के नाम थियो मैले विर्सिए त्यो नाम । को हो सूर्यकुमारी भन्ने ?’, खतिवडाले भने, ‘आफ्ना पार्टीका नेता झलनाथ खनाललाई बारीको पाखामा पल्टाए, अर्को नेता माधव नेपाललाई लखेटे, आफ्ना पार्टीका मान्छे राख्न नसकेर सूर्यकुमारी र घामकुमारी खोज्दै हिँड्छन् ।’

उनले भने, ‘जसले दिउँसै अन्धकार पारेर जनतालाई रात पारिरहेको छ, त्यसले सूर्यकुमारी ल्याएर उज्यालो बनाउन सक्छ ? सक्दैन ।’

‘कांग्रेस नेतृत्वको सरकारले जे बोलेको छ त्यो गरेको छ’, उनले भने, ‘२० वर्ष हुन नसकेको चुनाव कांग्रेसले गरेर स्थानीय सरकार बनाइदियो ।’

‘केपी ओलीले विकास हेर्न धनकुटा हेर्न जाऔँ भनेर बेलाबेलामा भन्ने गर्नु हुन्थ्यो । रोल्पा गए धनकुटा जाऔँ, धनकुटा गए म्याग्दी जाऔँ भन्ने, म्याग्दी गए इलाम जाऔं भन्ने, धनकुटाको सातै वटा स्थानीय तहमा आएर विकास हेरेको यहाँका जनप्रतिनिधि त ४० प्रतिशतका जनप्रतिनिधि रे ! के हो ४० प्रतिशत भनेको भनेर सोधे ? सांसद विकाश कोषको पैसा पनि ४० प्रतिशत दिएपछि मात्रै गाउँमा दिने रे ! त्यो पैसा पनि आफै राख्ने जनप्रतिनिधि रहेछन् । अनि तपाईको विकास हुन्छ ? काम हुन्छ ? हुँदैन’, नेता खतिवडाले भनेका छन् ।

‘हामी कांग्रेससँग निहूँ खोज्ने कोही शासक नेपालमा टिक्न सकेनन् । राणाले निहूँ खोज्यो हाम्रै हातबाट अन्त्य भयो । पञ्चायतले निहूँ खोज्यो हाम्रै हातबाट पञ्चायतको अन्त्य भयो । राजाले निहूँ खोजे हाम्रै हातबाट अन्त्य भए’, उनले चेतावनी शैलीमा ओलीलाई सचेत गराएका छन् ।

‘हिँजो बहुदल नमान्नेहरू बहुदलवादी भए, गणतन्त्र नमान्नेहरू गणतन्त्रवादी भए’, उनले भनेका छन् ।

‘३ सय वर्ष राजतन्त्रमा शासन गरेका राजा त कांग्रेसको अगाडि टिक्न सकेनन्, हिँजोअस्ती सूर्यकुमारी लिएर हिँड्ने केपी ओली टिक्न सक्दैनन्’, खतिवडाले भनेका छन् ।

नेता खतिवडाले धनकुटाले सधैँ कम्युनिस्टलाई जिताएका कारण धनकुटाका जनता हारेको बताएका छन् ।

‘धनुकटाले ३० वर्ष कम्युनिस्टलाई जितायो । आफू सधैँ हा¥यो । अब कांग्रेसलाई जिताउनुस् । धनकुटाले पनि जित्छ । कांग्रेस पनि जित्छ, प्रजातन्त्र पनि जित्छ’, खतिवडाले भनेका छन् ।

‘तपाईहरूले कम्युनिस्टलाई जिताउनु भयो, के पाउनु भयो ? झण्डै दुईतिहाइ मतले कम्युनिस्टहरू संविधान सभामा संविधान बनाउन जानुभयो’, उनले भने, ‘संविधान त बनाउनु भएन । उहाँहरूले चार जना प्रधानमन्त्री बनाउनुभयो । कम्युनिस्टका प्रधानमन्त्री भनेर फोटो झुण्ड्याउनुभयो । भित्तामा नाम लेखाउनुभयो । संविधान बनाउनुभएन ।’

‘दोस्रो संविधान सभामा कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेस पहिलो पार्टी बन्नेवित्तिकै संविधानभासबाट सबैको संविधान बनायौँ’, उनले भनेका छन् ।

‘कांग्रेसलाई जहिले भूमिका दिनुभयो। हामीले सधैँ इमान्दारका साथ काम गरेका छौं’, उनले भनेका छन् ।

नेता खतिवडाले गठबन्धनलाई बचाएर प्रतिनिधि सभासम्मै लैजानुपर्ने बताएका छन् । उनले भने, ‘गठबन्धनलाई स्थानीय तहदेखि प्रतिनिधि सभाको चुनावसँग मिलेर जान चाहन्छौँ । मिलेर जान चाहन्छौं’, उनले भनेका छन् ।

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण, केन्द्रीय सदस्य सुनिलबहादुर थापा र आङगेलु शेर्पा, सभापति दिनेश राई, पूर्व मनोहरमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 April 3, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया