कांग्रेसले बहुमत नल्याएसम्म देश सही बाटोमा जान सक्दैन : डा.महत

लिखु । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले पूर्ण बहुमत नल्याएसम्म नेपाल सही बाटोमा जान नसक्ने बताएका छन् ।

बुधबार नुवाकोटको लिखु– ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको ४८ औं बार्षिकोत्सव तथा छात्रवृत्ति वितरण समारोहमा सम्बोधन गर्दै डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि कांग्रेसले लिएका उदारवादी नीतिहरूले गर्दा देशमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी र विजुलीको क्षेत्रमा विकास भएको बताए ।

कम्युनिष्ट पार्टीहरूले काम हैन कुरा बढी गर्ने गरेको उनले बताएका छन् ।

‘अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरूले गरेको गफमा सामान्य मतदाता झुक्किँदा कांग्रेस पराजित भयो’, उनले भने, ‘२ वर्षमा चीनबाट रेल ल्याउने, समुद्र नभएको देशमा पानीजहाज ल्याउने कुरा गरेर उहाँहरूले चुनाव जित्नुभयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो ।’

‘कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो’, उनले भनेका छन् ।

पूर्वमन्त्री समेत रहेका डा.महतले पूर्ववर्ती एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधि खरिदमा समेत भ्रष्टाचार भएको आरोप लगाए ।

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोनाविरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको उनले बताएका छन् । कांग्रेसका कारण मुलुक सामान्य अवस्थामा फर्केको डा.महतले बताएका छन् ।

‘देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा कांग्रेसले जित्न जरुरी छ’, डा.महतले भने, ‘प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसले जित्न जरुरी छ ।’

उनले नुवाकोटको विकासलाई गति दिने काम कांग्रेसको पालामा भएको बताएका छन् ।

ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रवक्ता डा.महतले बताएका छन् ।

‘हिजो डा.रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउँथ्यो’, उनले भने, ‘ओली सरकारको पालामा त्यो करोडमा झर्‍यो । त्यै बजेट पनि उपभोक्ता समिति बनाएर कम्युनिस्टले बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।’

डा.महतले आफू ऊर्जामन्त्री हुँदा पूर्वी नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको बताए ।

डा.महतले भनेका छन्, ‘म यसै जिल्लामा पढेको हो । मैले पढदा विद्यालय भवन थिएन । चौतारामा बसेर पढे । प्राथमिक तहको शिक्षा दिने एक शिक्षक हुनुहुन्थ्यो ।’

‘मेहनत गरेर पढेँ । छात्रवृत्तिमा अमेरिकामा गएर पीएचडी गरे’, उनले भने, ‘देशमा फर्केर जनताको सेवा गर्ने अवसर पाए । ऊर्जा मन्त्री भए । परराष्ट्र मन्त्री भएँ ।’

डा.महतले भने, ‘शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो । कसैले हरण गर्न नसक्ने । अरु सम्पत्ति नासिएर जान्छ । पढेको व्यक्तिले संसारको जुनसुकै कुनामा पुगेर पनि खान्छ ।’

Published : Wednesday, 2022 March 30, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया