काठमाडौंमा आइटेक दिवस मनाइयो, प्रधानसेनापतिलाई सम्मान

काठमाडौं । भारतीय राजदूतावासले काठमाडौंमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गरेका हुन् ।

क्वात्राले भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीलाई स्वागत गरेका थिए ।

शिक्षामन्त्री देवेन्द्र पौडेल कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । नेपालका प्रधानसेनापति महारथी प्रभुराम शर्मा विशेष अतिथिको रुपमा उपस्थित थिए ।

राजदूत क्वात्राले कार्यक्रमका विशेष अतिथि प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा.रामकेवल साहलाई राष्ट्रप्रति गरेको उल्लेखनीय सेवाका लागि उपलब्धिको कदर गर्दै सम्मान गरेका छन् ।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा उर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे लगायतका आइटेक अलम्नाइहरूले भारतका विभिन्न संस्थानहरूमा तालिम लिँदाका दिनहरूको सम्झना गरेका छन् ।

राजदूत क्वात्राले आइटेकअन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरूमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताएका छन् ।

स्थापना भएको ५७ वर्ष अवधिमा आइटेक अन्तर्गतका कार्यक्रमहरूबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरू लाभान्वित भएका छन् ।

विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरू पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्ष अन्तर्गत हजारौं नेपाली नागरिकहरूलाई प्रशिक्षण दिइएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2022 March 30, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया