एआईजी बढुवाको बाटो खुल्यो, बिहीबार भाग्य चम्किन सक्ने

काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बाटो खोलिदिएको छ ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको उजुरी छानबिन गर्न गठित समितिले बढुवाको सिफारिस प्रक्रियासम्मत रहेको ठहर गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डीर्आइजी)हरूलाई एआईजीमा बढुवाका लागि बाटो खुलेको हो ।

आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिले उजुरीमाथि छानबिन गरेर कैफियत नदेखिएको जवाफ दिएको स्रोतले जनाएको छ ।

समितिले उजुरी परेपछि बढुवासँग सम्बन्धित कागजात मागेर छानविन गरेको थियो ।

कागजपत्र अध्ययनपछि बढुवा सिफारिसमा कैफियत नदेखिएको आयोगले जनाएको छ । आयोगको यो निर्णयपछि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले संभवत ३ जना एआईजीहरूको बढुवा गर्नेछ ।

गृहसचिव नेतृत्वको बढुवा समितिले तीन जना डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवा प्रक्रियाविरुद्ध आयोगको उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए ।

फागुन १२ गते बसेको मन्त्रिपरिषदले नेपाल प्रहरीमा तीन जना एआईजी थप्ने निर्णय गरेको थियो ।

Published : Wednesday, 2022 March 30, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया