कांग्रेससँग सिंगौरी खेल्दा मान्छे नपाएर ओलीजी हिरोनीलाई सिन्दुर लगाउँदै हिँडेका छन् : खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीका स्थानीय तहका नेता र कार्यकर्ताको सुझावमा गठबन्धन हुन सक्ने बताएका छन् ।

ओखलढुंगाको खिजीदेम्बामा नेपाली कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कतिपय ठाउँमा गठबन्धन हुन सक्ने बताए । उनले स्थानीय आवश्यक्ता र औचित्यताका आधारमा गठबन्धन हुने उल्लेख गरेका हुन् ।

‘हाम्रा नेताहरू गठबन्धनको सरकारमा हुनुहुन्छ । हामी कतिपय ठाउँमा गठबन्धन गन पनि सक्छौं’, उनले भने, ‘स्थानीय आवश्यक्ता र औचित्यताका आधारमा । स्थानीय जनता, स्थानीय साथीहरूले आवश्यक्ता ठान्छन् भने केन्द्रमा गठबन्धन भएका दलहरूसँग गठबन्धन गरेर जान सकिन्छ ।’

उनले भने, ‘जुन पालिकामा हामीले जितेका छौँ त्यो पालिकामा सौता हाल्ने काम गर्न दिँदैनौं ।’

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कार्यकर्ता नपाएपछि करिश्मा मानन्धर र कोमल ओलीहरूलाई टीका लगाएर पार्टीमा भित्र्याउने गरेको बताएका छन् ।

‘दुईतिहाई बहुमत दिएर पठाएको नेकपाको सरकार ओलीको अहंताले ९ महिना अगाडि तपाईहरूले देख्नुभयो ढल्यो । साढे तीन वर्ष केन्द्रदेखि प्रदेशसम्म दुईतिहाइ भएको सरकार टिक्न सकेन’, खतिवडाले भने, ‘कांग्रेससँग सिगौरी खेल्दाको परिणाम धुजाधुजा भएर आज केपी ओली कोही मान्छे नपाएर हिरोनीहरूलाई सिन्दुर लगाउँदै हिँडेका छन् ।’

उनले भने, ‘करिश्मा मानन्धर र कोमल ओली खोज्दै हिँडेका छन् । कार्यकर्ता पाउन सकेका छैनन् ।’

‘ओलीका कार्यकर्ता माधव नेपाल, रामकुमारी झाक्रीलेहरू छोडेर गए’, खतिवडाले भने, ‘ओलीलाई छोडेर गएपछि कहिले कोमल ओली, करिश्मा मानन्धरलाई टीको लगाउँदै भन्छन् हामीसँग कलाकारहरूको भण्डार आउन लाग्यो । देख्नुभयो कार्यकर्ताले छोडेर गएपछि को ल्याउने ? कस्ता ल्याउने ? टुंडीखेल र दशरथ रंगशालामा बाबुराम भट्टराईको टीका लगाउन हिँड्ने करिश्मा मानन्धरफेरि केपी ओलीकोमा आएर पार्टी परिवर्तन गर्दै यो कस्तो पद्धति होला ?’

‘पार्टी धेरै परिवर्तन गर्ने, धेरै श्रीमान् फेर्ने महिला र धेरै पत्नी फेर्ने पुरुषलाई जस्तै जनताले विश्वास गर्दैनन् । उनीहरू त्यस्तै हुन्’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

उनले भनेका छन्, ‘माओवादीलाई गाली गर्न चाहन्न । प्रचण्ड संविधान सभामा थिएनन् भने संविधान बन्दैन थियो । उनले आफ्नो पार्टी टुक्र्याए । बाबुरामलाई छोड्न तयार भए । बैद्यलाई छोड्न तयार भए । विप्लवलाई छोड्न तयार भए । तर, संविधान बनाउन तयार भएर संविधान रोजेर आज यो संविधान निर्माण भयो ।’

‘त्यसरी बनाएको संविधान केपी ओलीसँग गएर रक्षा गर्न सकिन्छ कि भनेर प्रचण्ड जानुभयो’, उनले भने, ‘केपी ओलीले तीन वर्षको बीचमा प्रचण्डलाई बालुवाटारको एउटा कोठामा रुङ्ग्ने गोठालाका रुपमा मात्रै स्थापित गरे । पार्टीको रुपमा स्थापित गरेनन् । त्यसैले आज प्रचण्डले उनलाई छोडेर आउने अवस्था सिर्जना भयो ।’

‘हामी पनि चाहन्छौँ एमाले पार्टी जनताका बीचमा जाँदा राम्रा कुरा लिएर जान्छ भन्ने तपाईहरूलाई लागेको होला’, उनले भने, ‘अन्त नजानुस् ओखलढुंगामा सबै विकास भयो भने । बलबहादुर राईले उद्घाटन गरेको पुल देखे भने यो त एमालेले ल्याएको हो, मैले ल्याएको हो भनेर घोषणा गर्न बेर लगाउँदैनन् ।’

‘एउटा सुँगुरको पाठो ब्यायो भने ओलीका पालामा ल्याएको सुँगुर थियो, त्यही ब्याएको हो भनेर प्रचार गर्छन् एमालेका साथीहरू । प्रचार गर्ने कुरा केही छैन । गरेको काम केही छैन’, उनले भने, ‘सांसद विकास कोषमा आएको पैसा बाहेक ओखलढुंगामा कुनै एकपैसा पनि विकास निर्माणको योजना आउन सकेनन् ।’

उनले भने, ‘६०१ मिटरको माला लगाउने कम्युनिस्टहरूले १० वर्षमा ६०१ मिटर बाटो खन्न नसक्ने साथीहरू फेरि भागेर हिँड्ने अवस्था सिर्जना भएको छ ।’

‘हामी काम गर्ने पार्टीका कार्यकर्ता हौँ । हामीले भन्यौँ । राजा तिमी नेपालमा राजाका रुपमा रहन सक्दैनौँ भन्यौँ । राजाले कांग्रेससँग निहूँ खोजे टिक्न सकेनन्’, उनले भने, ‘राणालाई भन्यौँ । तिमी एकतन्त्रीय भएर बस्यौँ भने कांग्रेससँग निहूँ खोज्यौ भने तिमी पनि टिक्न सक्दैनौं । कि तिमी एकतन्त्रीय रोज, कि जनता रोजभन्दा उनीहरूले परिवार रोजे, राणा पनि हामीसँग टिक्न सकेनन् ।’

उनले भने, ‘हामीले पञ्चायतलाई भन्यौँ । तपाईहरू पनि बहुदलीय व्यवस्थामा आउनुस् । होइन भने तपाईहरू पनि टिक्नु हुन्न भन्यौँ । उहाँहरू पनि आनाकानी गर्नुभयो । टिक्न सक्नुभएन । पञ्चायतको गति पनि त्यही भयो ।’

कार्यक्रममा ओखलढुंगाका पार्टी सभापति तेजेन्द्र खनाल, नेताहरू जितेन्द्र ठकुरी, कुमार लुइँटेल, पूर्व सभापति महेश कोर्मोचा, नेता बालकृष्ण दाहाललगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 March 27, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया