तनहुँमा माओवादीका निर्वाचित वडा सदस्यसहितको टोली कांग्रेसमा प्रवेश, भट्टराईद्वारा स्वागत

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको आरोप लगाए । उनले दाहाल र नेपालको द्वैध चरित्रको कडा आलोचना गरेका हुन् ।

सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्दै हिंड्ने ? भनेर उनले प्रश्न गरेका छन् ।

नेता भट्टराईले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए ।

‘एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर, चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ ?’, उनले प्रश्न गरेका छन् ।

आँबु– २ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुङसहित ३० कार्यकर्तालाई भट्टराईले पार्टीमा प्रवेश गराएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिएका छन् ।

पार्टी वडा सभापति मिलन गुरुङको सभापतित्वमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, वाउँपलिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशवनाथ खनाल, आबुका पार्टी सभापति विष्णु पन्थ, सभापति कटक थापा, स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङको सहभागिता थियो ।

यसअघि, कांग्रेसका केन्द्रीय सदस्य भट्टराईले बन्दीपुरमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका थिए ।

Published : Tuesday, 2022 March 22, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया