कम्युनिस्ट सांसदहरूले ललितपुरका जनतालाई शोषण मात्रै गरे : मीनकृष्ण महर्जन

लगनखेल । नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सांसद र प्रदेश सांसदले जनताहरूलाई मात्र शोषण गर्ने गरेको आरोप लगाएका छन् ।

नेता महर्जनले ५ वर्ष बित्नलाग्दा पनि गोदावरी नगरपालिका वडा नं. १० र ११ को चापागाउँ टाहाखेल बाटो निर्माणको लागि बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् ।

अझ प्रदेश सांसद चेतनाथ सञ्जेलले त सरकारको बजेट ल्याएर आफ्नो घर अगाडि कालोपत्र गरेको आरोप नेता महर्जनले लगाएका छन् ।

कांग्रेस नेता महर्जन गोदावरी नगरपालिका– ११ स्थित चापागाउँका स्थानीय बासिन्दा हुन् ।

चापागाउँ ललितपुर क्षेत्र नं. १ को सदरमुकाम मानिन्छ । नेता महर्जन भन्छन्, ‘हामी सानो उमेरमा छँदा दक्षिण ललितपुरका मानिसहरू किनमेल गर्नेहरूको घुइँचो लाग्ने गर्थ्यो । लाग्छ चापागाउँमा मेला नै लागे जस्तो हुन्थ्यो । यतिखेर बाटो खराबका कारण चापागाउँ बाटो हिँडडुल गर्न निकै कठिनाई भई सकेको छ ।’

उनले बाटो खराबका कारण धुलो खाएर चापागाउँका स्थानीयहरू बिरामी पर्न थालेको बताएका छन् ।

सडक डिभिजन कार्यालय ललितपुरले सडक निर्माणको लागि स्थानीयहरूको मुआब्जा दिने गरी करीव २४ मिटर बाटो फराकिलो बनाएर कालोपत्रको लागि टेन्डर गरेको करीव ५ वर्ष बितिसक्दा पनि सांसदहरूले स्थानीयहरूको मुआब्जा पाएका छैनन् । बाटोमा कालोपत्र गराउन पनि पहल गरेका छैनन् । उल्टै जनतामाथि शोषण गर्ने काम गरेका छन् ।

करीव २ वर्ष अगाडि नेता महर्जनको अगुवाइमा बाटो निर्माणको निमित्त ललितपुर सडक डिभिजन कार्यालय घेराउ गरी नारा जुलुस लगाएपछि प्रतिनिधिसभाकी माओवादी सांसद एवम् उर्जामन्त्री पम्फा भुसाल, एमालेका सांसद नवराज सिलवाल सडक डिभिजन कार्यालय आएर बाटो बनाउने लिखित सहमति भएको थियो ।

एकहप्तापछि बाटो निर्माण गरेको जस्तो केही काम गरेपछि वर्षाको बाहाना बनाई निर्माण कार्य रोकेको थियो । त्यसपछि अहिलेसम्म बाटो निर्माणको निम्ति सांसदहरूले कुनै चासो देखाएको छैन ।

त्यति मात्र होइन २०७० सालमा सातदोबाटोबाट हेटौंडा जाने बाटो निर्माण लागि कांग्रेस सरकारको पालामा करीव ५५ करोड बजेट निकासा भएको थियो ।

अहिलेका एमालेबाट निर्वाचित प्रतिनिधिसभाका सांसद र प्रदेश सांसद निकम्मा भएका कारण सो बाटो पनि अलपत्र अबस्थामा छ ।

लेले चन्दनपुर जाने बाटोपनि त्यस्तै अवस्थामा छन् । नेता महर्जन भन्छन्, ‘हामीसंग आन्दोलन बाहेक अरु बिकल्प छैन् ।’

काठमाडौं उपत्यकामा ४ बाराहीमध्य चापागाउँको बज्रबारही १ एक हो । दशैँको दिन दर्शनका लागि भक्तजनहरूको हजारौको भिड लाग्नेगर्छ ।

बाटो खराबका कारण यतिखेर दर्शन गर्ने भक्तजनहरू ह्वात्तै घटेको कांग्रेस नेता महर्जनले बताएका छन् ।

महर्जनले आफूले जनप्रतिनिधिको अवसर पाएको खण्डमा चापागाउँको बाटो निर्माण गरिदिने र स्थानीयवासीहरूले पाउनुपर्ने मुआब्जा उपलब्ध गराउने बताएका छन् ।

ललितपुर क्षेत्र नं. १ को विकास निर्माणमार्फत मुहार नै परिवर्तन गरिदिने महर्जनले बताएका छन् । उनले त्यसको लागि एकचोटी त्यो अवसर दिनुहुन स्थानीयहरूलाई अनुरोध गरेका छन् । गोदावरी नगरपालिका पर्यटकीय क्षेत्र पनि मानिन्छ ।

Published : Tuesday, 2022 March 22, 8:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया