आन्तरिक तथा सीमा पर्यटन प्रवर्द्धनका लागि ट्रावल मार्ट धरानमा हुने

काठमाडौं । आन्तरिक तथा बर्डर सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले (बर्डर टुरिजम) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिजम मार्ट शुरु गरेको छ ।

पर्यटन बोर्डले २०७८ चैत ११ देखि १३ गतेसम्म प्रदेश नम्बर १ को धरानमा इस्टर्न ट्राभल मार्ट आयोजना गर्नेछ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिएका छन् ।

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरू सञ्चालन गरिएको कार्यकारी प्रमुख डा. रेग्मीले बताए ।

नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथबोर्ड र नेपालगञ्ज उप–महानरपालिकाको आयोजनामा नेपालगञ्जमा फागुन २६, २७ र २८ गते वेस्टर्न ट्राभल मार्ट सम्पन्न भएको छ । यस मार्टमा नेपालगञ्ज शहरलाई गेट वे अफ क कर्णालीको रुपमा प्रवर्द्धन गरिएको थियो ।

धरान उप–महानगरपालिकासँगको सहकार्यमा प्रदेश नं. १ को धरानमा चैत ११, १२ र १३ गते ईष्ट टुरिजम मार्ट र धनगढी उप–महानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा चैत २५, २६ र २७ गते फारवेष्ट ट्राभल मार्ट २०२२ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रदेश नं. १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रचार–प्रचार गर्ने उदेश्यका साथ धरानमा यो मार्ट आयोजना हुन गइरहको ईष्ट टुरिजम मार्टका संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए ।

धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुदै आइरहेकोमा ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उनले जानकारी दिए ।

चैत २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा व्यूटिफुल फारवेस्ट शुक्ला टु अपीसाइपालको ब्राण्डिङ गरि सुदूरपश्चिमको प्रवर्द्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए ।

यी मार्टहरूमा नाट्टाका प्रदेशस्तरीय च्याप्टरहरूका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरूको सक्रिय सहभागिता रहेको छ ।

यी मार्टहरूमा सीमावर्ती भारतीय शहरका टुर अपरेटरहरूलाई बायरको रुपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकहरूबीच यस क्षेत्रका टुर प्याकेजहरू बिक्री प्रवर्द्धन गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ ।

यी मार्टहरूमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलहरूका साथ प्याकेजहरूको प्रवर्द्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी दिए ।

यी मार्टहरूमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरूले आकर्षक स्टलहरूका साथ प्याकेजहरूको प्रवर्द्धन गर्नेछन् । स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रुपमा रहेका छन् ।

स्थानीय साँस्कृतिक झाँकी, साँस्कृतिक प्रस्तुति र फुड स्टलहरू मार्टको आकर्षणका रुपमा रहेको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरू झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिहरूबीच टुर प्याकेजहरूको आदान प्रदान हुनेछ ।

Published : Monday, 2022 March 21, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया