बागलुङमा साढे २ वर्षदेखि हुन नसकेको काम २५ दिनभित्र एसपी ज्ञवालीद्वारा फत्ते, ४ यूनिट स्थापना

बागलुङ । नेपाल सरकारको मन्त्रिपरिषद निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय बागलुङले चार वटा प्रहरी चौकीहरू स्थापना गरेको छ ।

बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीको विशेष पहल एवम् समन्वयमा नयाँ निकाशा भएका प्रहरी चौकीहरू स्थापना गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रमुख ज्ञवालीले स्थानीय तहको निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर चौकीहरू स्थापना गरिएको बताए । उनले भने, ‘साधन स्रोतको कम छ । तैपनि निर्वाचनलाई शान्तिपूर्ण बनाउने दायित्व हाम्रो हो । प्रहरी चौकी स्थापना भएपछि जनतालाई शान्ति सुरक्षाको अनुभूति हुनेछ ।’

बागलुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले ती प्रहरी चौकीको उद्घाटन गरेका हुन् । उद्घाटनमा सम्बन्धित गाउँपालिकाका अध्यक्षहरूले पनि उद्घाटन गरेका थिए ।

सीडीओ ढकालले पनि स्थानीय जनताको मागअनुसार प्रहरी चौकीहरू स्थापना गरिएको बताए । उनले भने, ‘प्रहरी जनतासँग सम्पर्कमा रहेर शान्ति सुरक्षाको अनुभूति गराउनेछ ।’ सबैको प्रयास र सहयोगमा मात्रै समाजलाई सुरक्षित राख्न सकिने ढकालले बताएका छन् ।

स्थानीय जनताको मागअनुसार नेपाल सरकारको मन्त्रिपरिषदको २०७६ असोज ७ गतेको निर्णयले बागलुङ जिल्लाका चार स्थानमा प्रहरी चौकी राख्ने निर्णय गरेको थियो । बागलुङमा आधार दर्जन प्रहरी प्रमुख फेरिदा समेत ती चौकीहरू स्थापना गर्न सकेका थिएनन् । एसपी ज्ञवालीले कमाण्ड सम्हालेको एक महिनाभित्र सरकारको निर्णयअनुसार चौकीहरू स्थापना गरेका छन् ।

फागुन २५ गते बरेङ गाउँपालिका– २ सुडलामा प्रहरी चौकी स्थापना भएको छ । अर्को व्यवस्थान नभएसम्म सोही स्थानमा रहेको सुडला खानेपानीको भवनमा चौकी रहनेछ ।

ताराखोला गाउँपालिका– २ अर्गलमा प्रहरी चौकी भातखानेडाँडा स्थापना गरिएको छ । स्थानीय खरबहादुर रोकाको घरमा चैत ५ गते सीडीओ ढकाल र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले संयुक्त रुपमा चौकी स्थापना गरेका छन् । निसीखोला गाउँपालिका– २ जुग्जाखोलामा प्रहरी चौकी स्थापना भएको छ ।

जुग्जाखोला बजारमा रहेको स्थानीय सनराईज युवा क्लबको घरमा चैत ६ गते सीडीओ ढकाल र निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एसपी ज्ञवालीले बागलुङ प्रहरीको जिम्मेवारी सम्हालेको २४ दिन पुगेको छ ।

Published : Monday, 2022 March 21, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया