विगतका गल्तीहरू सच्याएर निर्वाचनमा जानुपर्छ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसले आवश्यक्ताका आधारमा स्थानीय तहमा गठबन्धन हुन सक्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस क्षेत्र नं. २ काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले सत्ता गठबन्धन निर्वाचनमा पनि कायम रहन सक्ने बताए ।

उनले विगतका गल्तीहरू सच्याएर देशको राजनीतिक मुद्दा र सामाजिक मुद्दामा कांग्रेस जनताको साथमा छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताएका छन् ।

नेता बस्नेतले भने, ‘आगामी चुनावमा जनता माझ जानुपर्छ । नेपाली जनता र समग्र कार्यकर्ताको भावनालाई सम्मान गर्नुपर्छ ।’
गाउँ र टोलबाट कांग्रेसलाई अगाडि बढाउनुपर्ने उनले बताएका छन् ।

उनले कांग्रेस जनभावनाअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीय तह चुनावका सन्दर्भमा पार्टीले सञ्चालन गरिरहेको ‘घर–घर जाउँ, कांग्रेस जिताऔं’ अभियानका क्रममा नेता बस्नेत काठमाडौं जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छन् ।

Published : Saturday, 2022 March 19, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया