दानव नदीमा १४ करोडको पुल, गृहमन्त्री खाणद्वारा उद्घाटन, सत्ता गठबन्धनको बचाउ

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले विकास निर्माणमा सबैको सहकार्य र साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

शनिबार रुपन्देहीको बुटवलस्थित तामनगर—फर्साटिकर सडकखण्डअन्तर्गत दानव नदीको नवनिर्मित पक्की पुलको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले विकास निर्माणका काममा अनावश्यक राजनीति नगर्न आग्रह गरे ।

सरकार जनतालाई विकासको अनुभूति दिलाउन प्रयासरत रहेको उनले बताए । उनले जनताको विकासको चाहनालाई हरसम्भव पूरा गर्ने बताए ।

गृहमन्त्री खाणले तीन तहको निर्वाचन समयमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका छन् ।

गृहमन्त्री खाणले एमसीसी परियोजना मुलुक र जनताको हितमा रहेको बताएका छन् । उनले एमसीसीका विरुद्ध कम्युनिस्टहरूले अनावश्यक रुपमा भ्रम र अफवाह फैलाउने कार्य गरेको बताए ।

आगामी निर्वाचन र निर्वाचनपछिसम्म पनि वर्तमान सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताएका छन् ।

मुलुकमा राजनैतिक आवश्यक्ता र विशेष परिस्थितिमा बनेको वर्तमान सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्ने उनले बताए ।

संविधान र संसद बचाउन गरिएको प्रतिगमन विरोधी आन्दोलनका सहयात्री तथा मुलुकमा राजनैतिक संकटका बेला कांग्रेसलाई साथ र सहयोग दिएका पार्टीहरूलाई छाडेर हिँड्न नहुने गृहमन्त्री खाणले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका काममा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करीव १४ करोड रुपियाँको लागतमा निर्माण भएको पक्की पुल निर्धारित समयमा सम्पन्न भएको जानकारी दिएका छन् ।

उनले तिनाउ र दानव नदीमा निर्माणाधीन अन्य पुलहरू पनि छिट्टै सम्पन्न हुने बताएका छन् ।

यसअघि, गृहमन्त्री खाणले शुद्धोधन गाउँपालिकाको भुजौलीमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।

उनले स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गरेको स्मरण गराउँदै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र मतदान गर्ने वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।

बिगतको कम्युनिष्टको सरकार जनताको भावना र चाहनाअनुरुप चल्न नसकेकाले आफै ढलेको उनले बताए ।

मुलुकको नेतृत्व गर्ने जिम्मेवारी कम्युनिष्टको असक्षमताका कारण कांग्रेसको काँधमा आएको खाणले बताए ।

मुलुकको समृद्धि, दिगो शान्ति र राजनैतिक स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचनमा जित्नुपर्ने उनको भनाइ छ ।

Published : Saturday, 2022 March 19, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया