अपहरणकारी एमालेलाई देशभरि हराएर कांग्रेसलाई विजयी बनाउन जितजंग बस्नेतको आह्वान

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले जनताले दिएको दुईतिहाइ बहुमत सांसद अपहरणमा केन्द्रित गरेको भन्दै अगामी चुनावमा एमालेलाई भोट नदिन आग्रह गरेका छन् ।

शनिबार भक्तपुरमा कांग्रेसद्वारा आयोजित अलग–अलग कार्यक्रमहरूलाई सम्बोधन गर्दै बस्नेतले केपी ओली, महेश बस्नेत, प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल दुईतिहाइ बहुमतको दुरुपयोग गरेर अपहरणमा लागेको बताए । अपहरण गर्नेहरूलाई भक्तपुरसहित देशभरिका जनताले चिनेर भोट दिन नहुने उनले बताएका छन् ।

उनले भने, ‘एमालेलाई जनताले दुईतिहाइ बहुमत सांसद अपहरण गर्न, भ्रष्टाचार गर्नको लागि दिएको होइनन् । शासन गर्नका लागि विश्वास गरेर मत दिएका हुन् । ओलीले शासन गर्न सक्नुभएन । बीचमा छाडेर भाग्नुभयो । कांग्रेसले सरकार चलाउनुपरेको छ ।’

बीचमा भाग्ने एमालेलाई भोट दिनुको साटो कांग्रेसलाई नै भोट दिएर जिताएपछि कांग्रेसले देश र जनताको सेवा गर्ने उनले बताए ।

नेता बस्नेतले एमसीसीका विषयमा कम्युनिस्टले गलत कुरा गरेर भ्रम छरेको बताए । उनले कम्युनिस्ट भनेका जनतालाई झन् गरिव बनाएर झुक्काएर शासन गर्नेहरूको जमात रहेको बताए ।

केन्द्रीय सदस्य बस्नेतले एमसीसीले नेपालमा उर्जाको क्षेत्रमा विकास गर्ने बताएका छन् । कांग्रेसले एमसीसीलाई संसदबाट अनुमोदन गरेर प्रसारण लाइन र सडक मर्मत गरेर देशको विकास गर्ने उल्लेख गरेका छन् ।

उनले स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन अपील गरेका छन् । नेता बस्नेतले भक्तपुरमा अपहरणकारी एमालेलाई हराएर कांग्रेसलाई जिताउनुपर्ने बताए ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीभित्रको मनमुटावलाई अन्त्य गरेर मिलेर चुनाव जित्ने बताए । उनले महाधिवेशनपछि गुटको अन्त्य भएको भन्दै आफूले पनि सबैलाई मिलाएर अगाडि बढ्ने बताएका छन् ।

अबको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताएर भक्तपुरमा कांग्रेसको चारतारे झण्डा फहराउने सभापति थापाले बताए ।

भक्तपुर कांग्रेसले सबै वडाहरूमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान चलाएको छ । प्रत्येक दिन कार्यक्रम भएका छन् ।

कांग्रेसले केन्द्रीय सदस्य बस्नेतलाई भक्तपुरमा केन्द्रीय प्रतिनिधिका रुपमा पठाएको छ ।

Published : Saturday, 2022 March 19, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया