प्यूठानमा बस दुर्घटना हुँदा २२ जना घाइते, दाङका अंशुको मृत्यु

प्यूठान । प्यूठान जिल्लामा यात्रु बोकेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

शनिबार दिउँसो माण्डबी गाउँपालिका–२ सेतोपहरामा ना.३ ख ७१३२ नम्बरको बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ३० मिटर तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार दाङको घोराही उप–महानगरपालिका–३ बनजाडे बस्ने २६ वर्षीया सावित्री परियारका वर्ष १ का अंशु परियारको मृत्यु भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अंशुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बस चालक समेत २२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुको साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Saturday, 2022 March 19, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया