काठमाडौं र ललितपुरमा जुवाको अखडामा छापा, लाखौं रकमसहित २९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छापामारेर जुवा खेल्ने २९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६१ हजार रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राई लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उता, ललितपुर महानगरपालिका–८ सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही महानगरपालिका–८ सुन्धारा बस्ने श्याम महर्जन लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९८ हजार ८ सय ४५ रूपियाँ, कौडा २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी ३ थान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु कपडा १ थानसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

Published : Saturday, 2022 March 19, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया