कम्युनिस्ट र कांग्रेसकै बागी ग्याङलाई सिध्याउने प्यानललाई देउवाले दिए बधाइ

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेस निकटको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितका सबै उम्मेदवारले जितेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना तथा बधाइ दिएका छन् ।

कांग्रेसका सभापति समेत रहेका देउवाले बिहीबार सामाजिक सञ्जालमार्फत इन्जिनियर्स एसोसिएसनमा कांग्रेसको प्यानलले जितकोमा खुसी व्यक्त गरेका हुन् ।

एमालेसहितका कम्युनिस्टहरूले एसोसिएसनमा कांग्रेससँग हार व्यहोर्न पुगेका छन् ।

कांग्रेसका दुईसहित पाँच प्यानलबीच चुनाव हुँदा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवारले चुनाव जितेको हो ।

अध्यक्षमा ३७३२ मतसहित हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । उनी गुल्मीका हुन् ।

सिडेनबाट दिलिपकुमार झा पनि अध्यक्षमा उठेका थिए । उनलाई सिडेनले चुनावअघि कारबाही गरेको थियो ।

दर्लामीले एमालेनिकटको प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा उठेका सुरज लामिछाने, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा (एकीकृत समाजवादी)निकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघबाट संयुक्त रूपमा उठेका हरिराम पराजुली, नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडालाई हराएका हुन् ।

एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भएको थियो ।

उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा झा, उप–महासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् ।

एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसबाटै दुई प्यानल थियो ।

Published : Thursday, 2022 March 17, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया