रौतहटमा हाइप्रोफाइल सडक दुर्घटना, दुई जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा पिकअप गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका–६ ठूलो हर्षाहामा बा.१७ च ६१६३ नम्बरको पिक–अप गाडीको ठक्करबाट ना.४३ प ७३२७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको बुधबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेहरूमा वृन्दावन नगरपालिका–६ हर्षाहा बस्ने २७ वर्षीय हरिकुमार ठाकुर र ३७ वर्षीय जितेन्द्रप्रसाद पटेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका हरिकुमारको हर्षाहास्थित अमन हस्पिटलमा उपचारको क्रममा र जितेन्द्र प्रसादको सोही हस्पिटल हुँदै थप उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

चपुरबाट गरुडातर्फ जाँदै गरेको उक्त पिकअपले सडक छेउको पान पसलमा र पसल अगाडि पार्किङ गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । तर, स्थानीय र मृत्तकका आफन्तले मुख्य दोषीलाई बचाउन खोजेको भन्दै प्रहरीसँग आक्रोशित बनेका छन् ।

सो गाडीमा बियरका बोतल र कम्युनिस्ट पार्टीका दस्ताबेजहरू फेला परेको छ । गाडीमा रक्सी खाएर मातिएका व्यक्तिहरूले चलाएका कारण दुर्घटना भएको स्थानीयको आरोप छ । स्थानीय कम्युनिस्ट पार्टीका नेता र ठेकेदार गाडीमा रहेको चर्चा रौतहटमा छ ।

Published : Thursday, 2022 March 17, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया