रुसी सेनालाई ध्वस्त पार्न युक्रेनलाई अमेरिकाले दियो किलर ड्रोन, पुटिनले तोरीको फूल देख्न

लण्डन । अमेरिकाले युक्रेनलाई १०० वटा किलर ड्रोन पठाउन लागेको छ ।

अमेरिकी सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको बीबीसीले जनाएको छ ।

युक्रेनलाई उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो । यसलाई झोलामा बोक्न सकिन्छ । अमेरिकी सैनिकहरू यसलाई कामिकाजे ड्रोन भनेर चिन्छन् ।

उक्त क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ ।

रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन् । युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीलाई उदृत गर्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

यता, यूकेका रक्षा मन्त्रालयका अनुसार युक्रेनमा रुसी आक्रामक कारबाहीहरू सबै मोर्चामा धेरै सुस्त भएको छ ।

बिहीबार बिहान प्रकाशित विज्ञप्तिमा रुसी सैनिकहरूले ‘केही दिनयता स्थल, जल वा आकाशमा एकदमै कम प्रगति हात पारेको तथा उनीहरूले ठूलो क्षति बेहोरेको’ जनाइएको छ ।

यूकेले युक्रेनी प्रतिरोध बलियो र सुसंयोजित भएको तथा प्रमुख सहरहरूसहित युक्रेनको अधिकांश भू–भाग युक्रेनी नियन्त्रणमा रहेको जनाएको छ ।

युक्रेनी सेनाले रुस अहिले गैरसैनिक नागरिकहरूलाई निसाना बनाउनेगरी हवाई आक्रमणमा केन्द्रित गरेको छ ।

जमिनमा असफल भएकाले रुसी सैनिकहरूले त्यसो गर्न लागेको युक्रेनको सेनाको भनाइ छ ।

अहिलेसम्म रुसले आफ्ना ५०० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । अमेरिकी गुप्तचर निकायका अनुसार मृत्यु हुने रुसी सैनिकको संख्या ७,००० जति हुनुपर्छ ।

यसैबीच, रुसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन् ।

रुसी विमानहरूलाई जनाउन दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा बालबालिका लेखिएको थियो ।

युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीका अनुसार रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको छ ।

उता, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा रुसी सेनाले सिरिया, चेचन्या र अफगानिस्तामा भएका युद्धमा भन्दा बढी सैन्य क्षति बेहोर्नुपरेको दाबी गरेका छन् ।

बुधवार राति अबेला गरेको सम्बोधनका क्रममा उनले रुसी भाषामा बोल्दै रुसी जनतालाई भने, ‘रुसी सैनिकहरूले युक्रेनमा त्यस्तो क्षति बेहोरेका छन् जुन न त सिरियामा न त चेचन्यामा बेहोर्नुपरेको थियो । सोभियत सैनिकहरूले न त अफगानिस्तानमा नै त्यस्तो क्षति बेहोर्नुपरेको थियो ।’

Published : Thursday, 2022 March 17, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया