उप–सभापति खनालद्वारा घोराही– ९ मा कांग्रेसको पार्टी कार्यालय शिलान्यास

घोराही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप–सभापति राजु खनालले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेस घोराही उप–महानगरपालिका वडा नं. ९ को वडा कार्यालयको बुधबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले कांग्रेसका उम्मेदवारहरूले जितेपछि गाउँको विकास हुने बताए । उनले विगतमा कम्युनिस्टहरूले जितेका स्थानमा विकासभन्दा पनि भ्रष्टाचार धेरै भएको बताए ।

उनले एमसीसीका विषयमा पनि कम्युनिस्टले भ्रम छरेर जनतालाई गुमराहमा राखेको बताएका छन् । एमसीसी ल्याउन कम्युनिस्टहरूले निवेदन दिएको बताएका उनले भने, ‘तत्कालीन सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभामा एमसीसी अनुमोदनका लागि दर्ता गराउनु भएको थियो । कांग्रेसले इमान्दारिताका साथ अघिल्लो सरकारको निर्णयलाई अगाडि बढाएर पास गराएको छ ।’

यसैबीच, उप–सभापति खनालले वडा नं. ९ मा कांग्रेसको पार्टी कार्यालयको शिलान्यास गरेका छन् । पार्टी कार्यालय बनेपछि कांग्रेसको कार्यक्रम गर्न र पार्टीका गतिविधि गर्न सजिलो हुने उनले बताएको युवा नेता वीरबहादुर खत्रीले जानकारी दिएका छन् ।

वडा सभापति महेन्द्र दाहालको सभापतित्वमा भएको कार्यक्रममा दाङ कांग्रेसका सभापति शंकर डाँगी, क्षेत्रीय सभापति भीम प्रकाश खडका, पूर्व क्षेत्रीय सभापति भुपबहादुर डाँगी, नेतृ जानका केसी, नेताहरू खगराज पाण्डे, जग्गु रोका, पवन आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2022 March 16, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया