रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णयको खतिवडाद्वारा प्रशंसा, गृह मन्त्रीलाई दिए धन्यावाद

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले गृह मन्त्रालयले रात्रिकालीन व्यवसाय २४सैँ घण्टा सञ्चालन गर्न दिने निर्णय गरेर अर्थतन्त्र चलायमान बनाएको बताएका छन् ।

पोखरामा गण्डकी प्रदेश तेक्वान्दो संघले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले गृहमन्त्री बालकृष्ण खाणको विशेष पहलमा रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णयको प्रशंसा गरे । उनले गृहमन्त्री खाणलाई धन्यावाद समेत दिएका छन् ।

‘कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र धरासायी हुन पुगेको छ’, खतिवडाले भने, ‘रात्रिकालीन व्यवसायी र त्यसमा काम गर्ने मजदुरलाई व्यवसाय २४सैँ घण्टा सञ्चालन गर्न दिने निर्णयले ठूलो सहयोग मिलेको छ ।’

पोखराको लेकसाइडसहितका स्थानमा रात्रिकालीन व्यवसायले हजारौंलाई रोजगारी दिएको उनले बताए । पर्यटन व्यवसायलाई सरकारले दिने सहुलीयत र सहयोगले मुलुकको अर्थतन्त्रमा सुधार हुने खतिवडाको भनाइ छ ।

Published : Tuesday, 2022 March 15, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया