त्रिवि केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन, भारतले अनुदानमा पैसा दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको निर्माणका लागि भूमिपूजन गरिएको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा भूमिपूजन गरेका हुन् ।

भारत सरकारको ५० मिलियन अमेरिकी डलर अनुदानमा सो पुस्तकालयको निर्माण हुनेछ ।

परियोजनाको कार्यान्वयनका लागि शिक्षा मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।

कूल नेरु ३१.६९ करोडको लागतमा नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप यस पुस्तकालयको निर्माण हुनेछ ।

यसरी निर्माण हुने नयाँ तीन तल्ले भवनमा आधुनिक सुविधा लगायत अतिरिक्त सुविधा सहितको विभिन्न प्राज्ञिक शाखाहरू हुनेछन् ।

भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रिय भवन अनुसन्धान संस्थान (सिबीआरआइ) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

सो रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको हो ।

त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।

राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताएका छन् ।

शिक्षामन्त्री पौडेलले नेपालको शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि आभार प्रकट गरेका छन् ।

Published : Tuesday, 2022 March 15, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया