सिसाको घरमा बसेर अमरेशले कांग्रेस नेताहरूविरुद्ध युद्ध घोषणा गरे, औकातमा बस्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंह आफ्नै पार्टीका नेताहरूविरुद्ध समाचार लेखाएर चरित्र हत्यामा सक्रिय भएका छन् ।

सर्लाही कांग्रेसमा महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएका अमरेशले सर्लाही कांग्रेसका नेताहरूविरुद्ध समाचार लेखाएको आरोप छ । उनले सभापति सुरेन्द्रप्रसाद सिंहविरुद्ध केही पत्रत्रिका र अनलाइनहरूमा समाचार लेखाएको कांग्रेसका युवा नेता विकास ठाकुरले जानकारी दिए ।

‘अमरेश सिंह पार्टीको आदरणीय नेता हुनुहुन्छ’, ठाकुरले भने, ‘अमरेश सिंहले आफ्नो हैसियतलाई भुल्नु हुँदैन । उहाँले आफ्नै पार्टीका नेताहरूविरुद्ध चरित्र हत्या हुने गरेर मिडियावाजी गर्नु हुन्छ भने उहाँका विरुद्ध पनि जान सकिन्छ ।’

नेता ठाकुरले अमरेशलाई सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा नहान्न चेतावनी दिएका छन् । उनले भने, ‘अमरेशजीले जनआन्दोलनताका स्प्लेण्डर मोटरसाईकल लिएर काठमाडौंको सडकमा नेताको घर–घर चहार्दै हिड्ने र शंखमुलमा एउटा रूम लिएर बस्ने गर्नु हुन्थ्यो ।’

‘उहाँको १५ वर्षको अबधिमा बिना कुनै व्यवसाय काठमाडौंमा ३ वटा घर, सयौँ रोपनी जग्गा, महँगा गाडीहरू कुन नैतिकता र ईमान्दारिकताको पैसाले किनिएका छन्, जवाफ छ कसैसँग ?’, रिपब्लिका दैनिकसँग कुरा गर्दै ठाकुरले प्रश्न गरेका छन् ।

‘दलाल र भ्रष्टाचारीहरूको रक्षक अमरेश सिंहजीको सम्पत्ति छानविन होस् । सम्पत्ति शुद्धीकरण विभागको ध्यान जाओस्’, नेता ठाकुरले भनेका छन् ।

Published : Tuesday, 2022 March 15, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया