हेटौँडाको पोलिटेक्निक प्रतिष्ठानबारे नेपाल–भारत अनुगमन समितिमा छलफल

काठमाडौं । हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक बसेको छ ।

काठमाडौंमा बसेको बैठकमा भारत सरकार विदेश मन्त्रालयअन्तर्गतको विकास साझेदारी प्रशासन महाशाखाका सह–सचिव सतीश सिवान र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव कमलप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।

परियोजनाको समग्र कार्यान्वयन पक्ष र प्रगतिबारे बैठकमा समीक्षा भएको छ ।

समितिले परियोजनाका ठेकेदार र परामर्शदातालाई समयमै परियोजना सम्पन्न गर्न निर्देशन दिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख ।

कोभिड महामारीका कारण परियोजनाले गति लिन नसकेको उल्लेख गर्दै दुवै पक्षले उक्त परियोजना महामारीले खडा गरेको चुनौति पार गरी अब निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् ।

नेपाली पक्षले नेपालको पूर्वाधार विकासका लागि गरेको निरन्तर सहयोग गरेकोप्रति भारत सरकारलाई धन्यवाद दिएको छ ।

भारतले पनि नेपाल सरकारसँगको फलदायी सहकार्य र नेपालको शिक्षा पूर्वाधारको विकासका लागि भएका संयुक्त प्रयासप्रति खुशी व्यक्त गरेको छ ।

दुई पक्षबीच परियोजना अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल पर्ने मितिमा गर्ने सहमति भएको छ ।

Published : Monday, 2022 March 14, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया