सोलुखुम्बुमा भारतले बनाइदियो २ वटा खानेपानी आयोजना

काठमाडौं । सोलुखुम्बु जिल्लाका दुई स्थानमा भारतको अनुदान सहयोगमा निर्माण गरिएका खानेपानीको उद्घाटन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन गरिएको हो ।

राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासकी प्रथम सचिव प्रियाधरसिनी आरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउने क्रममा भारत सरकारले नेपालमा ७५ वटा परियोजना शुरु गरेको छ । सो परियोजनामध्ये यो एक रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा खानेपानी परियोजनामा निर्माण गरिएको छ ।

परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।

जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् ।

भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस परियोजनाको कार्यान्वयनले खानेपानी व्यवस्थापनको क्षेत्रमा नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पुर्‍याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको भारतीय राजदूतावासले जनाएको छ ।

Published : Monday, 2022 March 14, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया