प्यूठानमा कांग्रेसको टिकट होटेल र चौपारीमा बसेर नबाँड्न सभापति राणाको चेतावनी

प्यूठान । नेपाली कांग्रेस प्यूठान प्रदेश ‘ख’का सभापति रोज राणाले स्थानीय चुनावका लागि होटेल, चौपारी, चोकबाट टिकट नबाड्न आग्रह गरेका छन् ।

प्यूठानमा ‘घर–घर जाऔं, कांग्रेस जितऔं’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले चुनावमा टिकट कार्यमूल्याङ्कनका आधारमा दिइने बताए । उनले कुनै नेताको नजिक वा चाकढी गरेको आधारमा टिकट दिन नहुने बताए ।

सभापति राणाले स्थानीय तहमा टिकट दोहोर्‍याउने वा नयाँलाई दिने भन्ने विषयमा उनीहरूको कामको आधारमा निर्णय हुने बताएका छन् ।

‘यसपटक पहिलेको स्थानीय चुनावका लागि पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामको आधारमा दोहो¥याउने वा नयाँ उम्मेदवार तयार गर्ने निर्णय पार्टीको कार्यसमितिले निर्णय गर्नेछ’, उनले भनेका छन् ।

गुटगत राजनीति गर्ने, पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पार्टीको निर्णय विपरीत जाने जोकोहीलाई पार्टीको नीतिअनुसार कारबाही गर्ने सभापति राणाले चेतावनी दिएका छन् ।

सभापति राणाले प्यूठान जिल्लामा कांग्रेसलाई बलियो बनाउन ‘घर–घर जाऔं, कांग्रेसलाई जिताऔं’ अभियानले ठूलो सहयोग गर्ने बताएका छन् ।

यसैबीच, नेपाली कांग्रेसले प्यूठानले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ ।

स्थानीय तहको चुनावलाई लक्षित गर्दै कांग्रेसले प्यूठानमा अभियान चलाएको हो ।

पूर्व आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले आइतबार बिजुवारमा अभियानको उद्घाटन गरेका छन् । अभियान एक महिनासम्म चल्नेछ ।

प्यूठानका ६४ वटा वडामा कांग्रेसका नेताहरू कार्यकर्तासम्म पुग्नेछन् । अभियान सफल पार्न जिल्लाका प्रत्येक वडामा प्रतिनिधि खटाइएको छ ।

Published : Monday, 2022 March 14, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया