भ्रष्टाचारको मुद्धा खेपीरहेका सिंह ठेकेदारहरूको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा नेपाली कांग्रेसका नेता रवि सिंह विजयी भएका छन् ।

काठमाडौंमा आइतबार भएको निर्वाचनमा महादेव खिम्ति निर्माण सेवाका सिंह अध्यक्षमा विजयी भएका हुन् । सिंहको यो दोस्रो कार्यकाल हुनेछ ।

अध्यक्षमा निर्वाचित सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा चलिरहेको छ । अध्यक्ष सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निकट मानिन्छन् । कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका सिंहले प्रकाशमानको सबै खर्च ब्यहोरेको चर्चा छ ।

सिंहले ८०७ मत प्राप्त गरेका थिए । सिंहका निकटतम प्रतिद्वन्द्वी विद्यान्सी निर्माण सेवाका सञ्चालक निकोलस पाण्डेले ३४२ मत पाएका थिए । पाण्डे यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत पाएका छन् ।

महासंघको प्रदेश १ को उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशको उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेशको उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशको उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाशबहादुर सेठी विजयी भएका छन् ।

महासचिवमा रोशन दाहाल विजयी भएका छन् । उप–महासचिव (नीतिगत)मा शिवहरि घिमिरे, उप–महासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भएका छन् ।

कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सह–कोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।

Published : Monday, 2022 March 14, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया