शक्तिकेन्द्रको चाकढी गर्नेलाई कांग्रेसको टिकट दिनु हुँदैन : मीनकृष्ण महर्जन

लगनखेल । नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले आगामी निर्वाचनमा शक्तिकेन्द्र धाएर चाकढी गर्नेलाई टिकट दिन नहुने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस ललितपुरले आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जितऔँ’ भन्ने अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले शक्तिकेन्द्र धाउँदैमा टिकट दिने हो भने कांग्रेस कमजोर हुने बताए ।

‘चुनाव आउँदैछ । हाम्रा साथीहरूले शक्तिकेन्द्र धाउँदै छन् । शक्तिकेन्द्र धाउनलाई टिकट दिने होइन है साथी हो’, खेलकुद विभागका पूर्वसचिव समित रहेका महर्जनले भने, ‘मसँग पद छैन ! म कहाँ आएका छैनन् । टिकट वितरणमा मेरो पनि निगाह हुन्छ है ।’

‘हाम्रो होइन राम्रोले टिकट पाउनुपर्छ । हार्नेले होइन, जित्नेले टिकट पाउनुपर्छ’, उनले भने, ‘त्यो भएन भने हाम्रो सहयोग हुँदैन । जित्ने मान्छेले टिकट पाउनुपर्छ ।’

‘विधानमा लेखिएको छ । वडाध्यक्षको टिकट क्षेत्रले बाँड्ने । गाउँपालिकाको टिकट जिल्ला कार्यसमितिले बाँड्ने । नगरपालिकाको टिकट प्रदेश कार्यसमितिले बाँड्ने । उप–महानगर र महानगरको टिकट केन्द्रीय कार्यसमितिले बाँड्ने’, नेता महर्जनले भनेका छन् ।

‘यहाँ कसैले टिकट दिएर दिने होइन । बाँकी कुरा स्पोटमा हुनेछ’, उनले भनेका छन् ।

कांग्रेसभित्र अन्तरघातको ठूलो समस्या रहेको भन्दै महर्जनले अनुशासन समितिभन्दा पनि निगरानी समिति बनाउनुपर्ने बताएका छन् ।

‘अन्तरघातीलाई सभापतिले के गर्ने हो गर्नुपर्छ । अनुशासन समिति होइन । निगरानी समिति बनाउनुपर्छ’, उनले भने, ‘क–कसले अन्तरघात गर्छ भन्ने कुरा हामीलाई छर्लङगै छ ।’

‘क–कसले टिकट पाउँछ । क–कसले पाउँदैन भन्ने कुरा पनि हामीलाई थाहा छ’, उनले भने, ‘त्यो मान्छेलाई निगरानी हुनुपर्छ । यस पटक हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्नु हुँदैन ।’

‘यो अवधिमा कम्युनिस्टले कति पेलेका छन् हामीलाई थाहा छ’, नेता महर्जनले भने, ‘साढे तीन वर्ष कांग्रेस खोज्न गाह्रो भइसकेको थियो । कार्यकर्ता निरास भइसकेका थिए ।’

‘नेताहरूले कार्यकर्तालाई संरक्षण गर्दैनन् । ताल यस्तो छ । कांग्रेसमा बनाउने होइन सिध्याउन लाग्नेहरू पनि छन्’, उनले भने, ‘जो बलियो छ, जो माथि आउन खोज्छ त्यसलाई सिध्याउन लाग्छन् । त्यसको भुक्तभोगी म पनि हुँ ।’

नेता महर्जन बोल्ने क्रममा कार्यक्रममा युवाहरूले समर्थन गर्दै हुटिङ समेत गरेका थिए । महर्जन ललितपुर कांग्रेसमा युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

Published : Sunday, 2022 March 13, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया