रुपन्देहीमा कांग्रेस नेता राणाद्वारा कम्युनिस्टहरूको भण्डाफोर, एक–एक कर्तुत बाहिरियो

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचन जितेको कम्युनिष्टले जनतालाई धोका दिएको बताएका छन् ।

आइतबार भैरहवामा रुपन्देही कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै राणाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिनँभन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए ।

पाँच वर्षका लागि जनताले सरकारको नेतृत्व गर्ने अवसर कम्युनिष्टलाई दिए पनि त्यो हुन नसकेको नेता राणाले बताएका छन् ।

‘कांग्रेसले जे बोल्छ त्यही नै गर्छ, यसपटक कांग्रेसलाई जिताउनुपर्छ’, उनले भनेका छन्, ‘यो भनेको नेतालाई होइन, हामीआफैँ जित्नुपर्छ ।’

आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्रत्येक पालिकाले छुट्टै घोषणापत्र बनाउनुपर्ने नेता राणाले आग्रह गरेका छन् ।

उनले विगतमा रुपन्देहीमा स्थानीय तह निर्वाचनमा व्यवस्थापन नभएकै कारणले दुईवटा पालिकामा मात्र कांग्रेसले जितेको बताए ।

यसपटक राम्रो व्यवस्थापन मिलाउन सके बहुमत पालिकामा कांग्रेसले जित्ने नेता राणाले बताएका छन् ।

उनले एमसीसी सहायता नेपालको पूर्वाधार विकासका लागि माग गरिएको बताएका छन् ।

एमसीसीको विषयमा कांग्रेसका नेताहरूको एउटै धारणा रहेको राणाले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले संसदमा एमसीसीलाई अनुमोदनका लागि दर्ता गरेको उनले बताए ।

एमसीसी सम्झौताको प्रस्तावलाई अहिलेको सरकारले अगाडि बढाउन खोज्दा एमाले नै अनिर्णयको बन्दी हुनु मुलुकप्रतिको बेइमानी भएको राणाले उल्लेख गरेका छन् ।

‘उति बेला आफ्नै नेकपाको सरकार हुँदा यो सम्झौता ससदमा दर्ता भएको हो’, उनले भने, ‘नेकपामा अहिलेका एमाले र माओवादी नै थिए ।’

‘अहिले पास गर्ने बेलामा पार्टीभित्रको विवादमा एमसीसीका नाममा जनतालाई विभाजित गराउने काम कम्युनिष्टहरूले गरे’, नेता राणाले भनेका छन् ।

मुलुकमा अस्थिरता ल्याउन खोज्ने कम्युनिष्टहरूको प्रयासलाई कांग्रेसले असफल बनाएको उनले उल्लेख गरेका छन् ।

रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Published : Sunday, 2022 March 13, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया