पर्याप्त अध्ययनबिनै पत्रकारितामा नेतृत्व : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्ता राख्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।

उनले पर्याप्त अध्ययन, अनुसन्धान र खोजी नेपाली मिडिया क्षेत्रमा हुन नसकेकाले पछिल्लो समय काउन्सिल यसतर्फ क्रियाशील बनेको जानकारी दिए ।

पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थी संलग्न कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘प्रेस काउन्सिलले मिडियाको अध्ययन, प्रशिक्षण बढाउन विभिन्न योजना अघि बढाएको छ । सरकारले यसको लागि स्रोत/साधन जुटाइदिन कन्ज्युस्याईं गर्नुभएन । मिडियाको प्रवर्द्र्धनमा भएको लगानीले सिङ्गो प्रेस जगतलाई नै फाइदा हुन्छ ।’

प्रेस काउन्सिल नेपाल र ख्वप कलेज भक्तपुरका पत्रकारिता बि. ए. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्ध काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले यस्तो धारणा राखेका हुन् ।

बस्नेतले आचारसंहिता, नक्कली र सक्कली पत्रकारबीचको भिन्नता, (कोड अफ कण्डक्ट र कोड अफ इथिक्स) बारे जानकारी दिए । उनले पत्रकारिता पढेकोमा खुसी व्यक्त गर्दै यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाव दिए ।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिलको काम, कर्तव्य, अधिकार, गठन प्रक्रिया, संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराएका छन् ।

उनले दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको सङ्ख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो कारबाहीका साथै स्वअनुगमनबारे जानकारी दिएका छन् ।

काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्म अभ्यास गर्ने गरेको उनले बताए ।

Published : Sunday, 2022 March 13, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया