गुल्मी गन्तव्य भएका बस र हाइस पाल्पामा दुर्घटना, १३ जना घाइते

तानेसन । पाल्पा जिल्लामा हाइस र बस एकआपसमा ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिका– ३ सिरुखर्कमा आइतबार दिउँसो करीव ३ बजे हाइस र बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवम् प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी दिएका छन् ।

पाल्पातर्फ आउँदै गरेको बा ५ ख २२८७ नम्बरको हाइस र पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ८७९४ नम्बरको बस एक आपसमा ठक्कर खाएको निरीक्षक पचभैयाले बताए ।

दुर्घटनामा गुल्मीको मुसीकोट– २ कि २१ वर्षीय अम्बिका परियार, ईस्मा– ६ का ७१ वर्षीया दीपकला पोखरेल, रेसुङगा– ४ २४ वर्षीय महेश पन्थी र हेमलाल पन्थी, ईस्मा– ३ कि ६७ वर्षीय सारदा पछाई र ६८ वर्षीय प्रेमबहादुर पछाई, रुरु– ५ का ४० वर्षीय विष्णुप्रसाद श्रेष्ठ, छत्रकोट– २ का २१ वर्षीय शिव गाह घाइते भएका छन् ।

पर्साको वीरगञ्ज– १६ का १८ वर्षीय संदीप साह सोनार र १९ वर्षीय आनन्दकुमार सोनार, कपिलवस्तुको वाणगंगाकी २६ वर्षीय सरस्वती कुँवर, नवलपरासीको बर्दघाट– ५ का १९ वर्षीय विशाल नेपाली पनि घाइते भएको प्रहरी निरीक्षक पचभैयाले जानकारी दिए ।

घाइते भएका सबैको उद्धार गरेर प्रहरीले उपचारका लागि मिसन अस्पतालमा भर्ना गरेको छ । प्रहरीले दुबै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

Published : Sunday, 2022 March 13, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया