उद्योगी, व्यवसायी मुलुकको आधारशीला हुन्, उनीहरूको सम्बर्द्धन गर्नुपर्छ : खाण

भैरहवा । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले २४सैं घण्टा होटल तथा रेष्टुरेन्ट र व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको बताएका छन् ।

गृहजिल्ला रुपन्देहीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले भने, ‘घडीको सुई हेरेर व्यवसाय बन्द गर्नभन्दा २४सैं घण्टा सञ्चालन गरेर अतिथिलाई सेवा र सम्मान दिनुपर्छ ।’

उनले भने, ‘आवश्यक सुरक्षा व्यवस्था सरकार र गृह प्रशासनले गर्छ, व्यवसायीले व्यवसाय सञ्चालन गरेर अतिथिलाई सेवा दिनुस् ।’

पूर्णरुपमा व्यवसाय सञ्चालन हुँदा यसले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उनले बताएका छन् ।

निजी क्षेत्र बलियो भए राज्यको राजश्व बृद्धि हुन्छ, यसले विकास निर्माण र आम नागरिकलाई सेवा दिन थप मद्दत पुग्छ’, उनले भनेका छन् ।

खाणले उद्योगी, व्यवसायी मुलुकको आधारशीला भएको बताउँदै उनीहरूको सम्बर्द्धन गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

गृहमन्त्री खाणले एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट कुनै देशका सेना र गोलाबारुद नआउने बताएका छन् ।

‘सम्झौता गर्दा र पास गर्दा बडो सुजबुझसाथ गरिएको छ, बाहिर बजारमा आएका हल्ला मात्रै हुन्’, उनले भने, ‘त्यही पनि एमसीसीकै अंगकारुपमा ब्याख्यात्मक टिप्पणी गरिएको छ । मुलुक विकासका लागि गरिएको सम्झौता हो ।’

गृहमन्त्री खाणले एमसीसी राष्ट्रहीतमा रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय सहयोग भित्र्याउँदैमा राष्ट्रघात नभई मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

खाणले समाजमा ठूलो परिवर्तन आइरहेकाले यसलाई छेक्न नहुने बताएका छन् ।

परिवर्तनका नाममा कसैको व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने उनले बताएका छन् ।

द्वन्द्वबाट १७ हजार नागरिकको ज्यान गएको उनले बताएका छन् । ‘ती परिवारले आज पनि आफन्तको फोटो घरमा झुण्ड्याएर बसेका छन्, कति पीडा होला’, खाणले भने, ‘त्यसैले हाम्रो महत्वकांक्षले गर्दा मुलुकमा अर्को द्वन्द्व हुन हुँदैन ।’

Published : Sunday, 2022 March 13, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया