ओलीकै जिल्लामा सरिताले दिइन कडा जवाफ, कांग्रेसलाई भोट दिन अपील, एमालेलाई कार्यकर्ताले छाडे

बुद्धशान्ति। नेपाली कांग्रेसको केन्द्रीय सदस्य सरिता प्रसाइँले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन पार्टीका सबै उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएकी छिन् ।

शनिबार झापाको बुद्धशान्ति गाउँपालिका– २ मा कांग्रेसले आयोजना गरेको अग्रज व्यक्तित्व सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ प्रसाइँले कांग्रेसको पक्षमा जनताले साथ दिने बताएकी हुन् ।

उनले दोहोरो चरित्र भएका कम्युनिस्टसँग जनता दिक्क भइसकेको बताएकी छिन् ।

कांग्रेसको नेतृत्वमा संविधान बनेको बताएकी नेतृ प्रसाइँले कांग्रेस आफू हार्छुभन्ने जान्दाजान्दै देश र जनताका लागि संविधान कार्यान्वयन गर्न निर्वाचन गराएको बताइन् ।

जनताले राजनीतिक स्थिरताका लागि भन्दै एमाले–माओवादीलाई झण्डै दुईतिहाइ भोट दिएर सत्तामा पु¥याएको उनले स्मरण गरेकी छिन् ।

‘एमाले र माओवादीले झण्डै दुईतिहाई भोट पाए । जनताले दिएको मतको अपमान गर्दै पार्टीभित्रको अन्तरकलहले पार्टी फुट्यो’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘कांग्रेसले सधैँ तपाईहरू मिलेर सरकार चलाउनुस् भन्यौँ । उहाँहरूले सरकार चलाउन सक्नुभएन संविधान विपरीत दुई पटकसम्म संसद विघटन गर्नुभयो ।’

कांग्रेस नेतृ प्रसाइाले भनेकी छिन्, ‘केपी ओलीजीले दुईतिहाइ बहुमत हुँदाहुँदै दुई पटक संसद विघटन गर्नुभयो । उहाँ असफल बन्नुभयो । एमालेले जनताको दुईतिहाइको मतलाई अपमान गरेको छ ।’

एमालेका कारण संविधान धरापमा पर्ने अवस्था आएपछि संविधानको रक्षाका लागि शेरबहादुर देउवाले सरकारको नेतृत्व लिएको नेतृ प्रसाइँले बताएकी छिन् ।

‘शेरबहादुर देउवा सरकारमा जान्नभन्दा पनि बुढानिलकण्ठमा गएर प्रचण्ड र माधवकुमार नेपालले सरकार चलाइदेउ भन्नुभएको थियो । हामीलाई अनुरोध गरेपछि सरकारको नेतृत्व लिएको हो’, उनले भनेकी छिन्, ‘एमालेवालाहरूले परमादेशले बनेको सरकार भन्छन् । सर्वोच्च अदालत संविधानको ब्याख्या गर्ने र संरक्षक पनि हो । सर्वोच्चले दिएको आदेशलाई शेरबहादुर देउवाले मानेको मात्रै हो ।’

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि ओली सरकारले गरेका भ्रष्टाचारहरूलाई रोक्ने काम भएको उनले बताएकी छिन् । ओलीका ठूला–ठूला भ्रष्टाचारको जनतासमक्ष भण्डाफोर गर्नुपर्ने नेतृ प्रसाइँले बताएकी छिन् । उनले एमसीसीमा कम्युनिस्टले भ्रम छरे जस्तो केही पनि नभएको बताएकी छिन् ।

‘एमसीसीको सबैभन्दा पहिला कुरा गर्ने बाबुराम भट्टराई, प्रचण्ड, झलनाथ खनाल, केपी ओलीले हो’, उनले भनेकी छिन्, ‘क्याबिनेटबाट पास गरेपछि हुने एमसीसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय ओलीले गराउनु भएको हो ।’

‘एमसीसी पास गराउँदा ओलीले संसद अबरुद्ध गर्नुभयो । माधव–प्रचण्डले भित्रभित्रै हुन्छ भन्नुभयो । बाहिर विरोध गर्नुभयो’, कांग्रेस नेतृ प्रसाइँले भनेकी छिन्, ‘एमसीसी गलत छ भनेर कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसमितिबाट पारित गरेर देखाउनुस् । होइन भने विरोध गर्नुको कुनै अर्थ छैन ।’

उनले एमालेले संसद अबरोध गरेर एमसीसीको बुँदाबुँदामा छलफल गर्न नदिएको समेत बताएकी छिन् । कांग्रेसले एमसीसी नेपालको विकासमा धेरै राम्रो अनुदान रहेको भनेर जनतालाई घर–घरमा पुगेर बुझाउने उनले बताएकी छिन् ।

कार्यक्रममा एमाले–माओवादीसहित विभिन्न दल परित्याग गरेका स्थानीय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेतृ प्रसाइँले स्वागत गरेकी छिन् ।

झापा एमालेका अध्यक्ष ओलीको गृहजिल्ला पनि हो । एमालेकै कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेर कम्युनिस्टको झुठको खेतीको पछाडि नलाग्ने सन्देश दिएका छन् ।

Published : Saturday, 2022 March 12, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया