मुगुमा कांग्रेसको शक्ति प्रदर्शन, नेता बुढाद्वारा कम्युनिस्टको भ्रमको पछि नलाग्न आग्रह

मुगु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कम्युनिस्टहरू विकास विरोध भएको बताएका छन् ।

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत मुगु जिल्लामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै बुढाले एमसीसीप्रति कम्युनिस्टहरूले ठूलो भ्रम फिजाएको बताए । उनले भने, ‘कम्युनिस्टले भ्रम फिजाए जस्तो एमसीसी केही पनि होइन । अमेरिकालाई तिर्न नपर्ने गरेर नेपाललाई बिजुलीको प्रशारण लाइन बनाउन दिएको पैसा हो । अमेरिकी सेना ल्याउने पैसा होइन ।’

एमसीसीमा कम्युनिस्टहरूले द्वेध चरित्र देखाएको नेता बुढाले बताए । उनले भने, ‘कम्युनिस्टभित्र कोही नेता एमसीसीको समर्थनमा छन् । कोही नेता विरोधमा छन् । उनीहरूको यो दोहोरो चरित्रले गर्दा मुलुकको विकास हुन सकेको छैन ।’

नेता बुढाले कम्युनिस्टभित्र चीनको समर्थनमा रहेकाहरूले एमसीसीको विरोध गरेर भ्रम फिजाएको बताए ।

उनले आगामी निर्वाचनमा दोहोरो चरित्र भएका कम्युनिस्टलाई पराजित गर्न आग्रह गरेका छन् । उनले भने, ‘अबको निर्वाचनमा रुख चिन्हमा मतदान गरेर कांग्रेसका सबै उम्मेदवारहरूलाई जिताउनुपर्छ ।’

केन्द्रीय सदस्य बुढाको प्रमुख आतिथ्यतामा भएको आमसभामा मुगुका पार्टी सभापति एनेबहादुर शाही, कर्णाली प्रदेश कांग्रेसका सह–महामन्त्री एवम् सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा, पूर्वसभापति खड्गबहादुर शाही, पूर्व राज्यमन्त्री हस्तबहादुर मल्ललगायतका मुगु कांग्रेसका नेता कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

कांग्रेसले आगामी स्थानीय निर्वाचनको तयारी स्वरुप केन्द्रीय कार्यालयबाट बुढालाई मुगुमा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ ।

मुगु कांग्रेसले पनि स्थानीय तहको निर्वाचनको तयारीलाई लक्षित गरे भब्य कार्यक्रम गरेको छ । मुगुमा कांग्रेसको जबरजस्त उपस्थिति देखिएको छ । मुगुमा कांग्रेसले ठूलो शक्ति प्रदर्शन गरेको छ ।

Published : Saturday, 2022 March 12, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया