स्थानीय तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ : जितजंग बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले पार्टीलाई एकताबद्ध गर्दै लगेर स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताएका छन् ।

‘घर–घर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानअन्तर्गत शुक्रबार भक्तपुर कांग्रेसको बैठकलाई सम्बोधन गर्दै बस्नेतले महाविधेशन सम्पन्न भएसँगै पार्टीभित्र कुनै समस्या नरहेको बताए ।

नेता बस्नेतले पार्टीभित्र कसैलाई काखापाखा नलगाउने बताए । उनले काम र सक्रियताको आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताएका छन् ।

उनले निर्धक्कले पार्टी संगठन विस्तार गर्न घर–घरमा पुगेर कांग्रेसले गरेका कामको जानकारी गराउन आग्रह गरेका छन् ।

दुई जिब्रे चरित्रका कम्युनिष्टले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताएका नेता बस्नेतले अबको निर्वाचनमा कांग्रेसको विकल्प नभएको बताए ।

देशको निकास र विकास कांग्रेसबाट मात्र सम्भव भएको केन्द्रीय सदस्य बस्नेतले बताएका छन् ।

‘जनताले कांग्रेसलाई नै भरोसा गर्ने भएकाले कांग्रेसका नेता र कार्यकर्ता चुप लागेर बस्नु हुँदैन, घर–घरमा कांग्रेस पुग्ने बेला आइसकेको छ’, उनले भनेका छन् ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले २९ वटा वडामा जिल्ला प्रतिनिधि खटाउँदै अभियानमार्फत निर्वाचनका सबै तयारी गरिने बताएका छन् ।

थापाले अब धनवाद र डनवादलाई ठेगान लगाउने बताएका छन् । उनले निर्वाचनमार्फत जनताले कम्यनिस्टका सबै गतिविधिको गतिलो जवाफ दिने बताएका छन् ।

सभापति थापाले अब कहीँकतै अलमल नगरी सबै तहका पार्टीका साथीहरू अभियानमा लाग्न निर्देशन दिएका छन् ।

Published : Saturday, 2022 March 12, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया