धनकुटा कांग्रेसद्वारा खतिवडालाई स्वागत, पहिलो दिन नै धमाका सुरुवात

धनकुटा । नेपाली कांग्रेस धनकुटाले केन्द्रीय सदस्य समेत रहेका केन्द्रीय प्रतिनिधि रामहरि खतिवडालाई स्वागत गर्दै एक महिने अभियानका विषयमा छलफल गरेको छ ।

शुक्रबार धनकुटा जिल्लामा जिल्ला कार्यसमितिका सभापतिसहित केन्द्रीय सदस्य सुनिलबहादुर थापासहितका नेताहरूले खतिवडालाई स्वागत गरेका हुन् । उनीहरूले खतिवडालाई फागुन २९ देखि वैशाख ३ गतेसम्मको कार्यक्रमका बारेमा जानकारी गराएका छन् ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल बनाउन खतिवडा धकुटा जिल्लामा खटिएका छन् ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, नेता खतिवडा, पूर्व आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, सभापति दिनेश राईसहित बसेको बैठकले सबै पालिका र वडाहरूमा प्रतिनिधि खटाउने निर्णय भएको छ । बैठकले ‘आफ्नो ठाउँ र गाउँ दह्रो बनाउ’ भन्ने नारा पनि तय गरेको छ ।

खतिवडाले भने, ‘अभियानमा म केन्द्रीय प्रतिनिधि, आदरणीय दाई सुनिलबहादुर थापासहित जिल्ला कार्यसमितिको सिंगो टिमले ३ वटा नगरपलिका, ४ वटा गाउँपालिका र ६० वडाहरूमा संगठन विस्तार गर्न संयोजकको रुपमा जिम्मेवारी दिने निर्णय गरेका छौं । सबैलाई धन्यावाद ।’

नेताद्वय थापा, खतिवडाले धनकुटाको भेडेटारमा पार्टी कार्यालयका उद्घाटन गर्नेदेखि १९ जनालाई पार्टी प्रवेश गराएका थिए ।

नेता थापाले धनकुटाका सबै वडामा कांग्रेसका उम्मेदवारहरूलाई जिताउने गरेर अभियान चलाउने बताए । उनले भने, ‘कांग्रेसले वडादेखि पालिका, प्रदेश र प्रतिनिधि सभा जित्नेछ । त्यो वातावरण हामीले बनाउने छौँ ।’

नेता खतिवडाले भने, ‘म अबको १ महिना तपाईंहरूसँग रहेर टोल–टोलमा यात्रा गर्न तयार छु । तपाईहरूको साथ र सहयोगको अपेक्षा लिएको छु ।’

खतिवडाले भने, ‘मेरो बिनम्र अनुरोध छ । हिजोदेखिको केही मतभेदहरू जे–जे छ आजदेखि अन्त्य गर्नुपर्छ र जिल्ला सभापति, केन्द्रीय प्रतिनिधि र संयोजक बाहेक अरु कांग्रेसका साथीहरू आफ्नै वडा र टोलमै बस्न अनुरोध गर्दछु ।’

Published : Friday, 2022 March 11, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया