बस दुर्घटना १४ जनाको मृत्यु, ५ घाइते, प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

संखुवासभा । संखुवासभा जिल्लामा बिहीबार भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

मादी नगरपालिका–६ सातघुम्तीस्थित भित्री सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित १४ जनाको घटना स्थलमा मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा ५ घाइते भएका छन ।

बिहान पौने ८ बजे मादीबाट झापातर्फ आउँदै गरेको बा.४ ख ७३५ नम्वरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो ।

उनीहरूलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरानको घोपा पठाइएको छ ।

मृत्यु भएकाहरूको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरको शव गृहमा राखिएको छ ।

घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीसहितको टोली र ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षकसहितको टोली गएर मृतक तथा घाइतेहरूको उद्धार गरिएको थियो ।

संखुवासभाको मादी नगरपालिका–६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी नगरपालिका– ४ उम्लिङकी २४ वर्षीया करिश्मा तामाङ र मादी नगरपालिका–६ कि २२ वर्षीया तुलसा कटुवाल, मादी नगरपालिका –४ का २४ वर्षीय सुवास तामाङ र मादी नगरपालिका–५ कि २७ वर्षीया युका पोखरेल गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा संखुवासभाको मादी नगरपालिका– ६ कि ३० वर्षीया सीता बिक, मादी नगरपालिका– ६ कि ३२ वर्षीया अञ्जना कटुवाल, मादी नगरपालिका– ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी नगरपालिका–२ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी नगरपालिका–६ कि ५ वर्षीया दीक्षा कटवाल, मादी नगरपालिका–४ का ६० वर्षीय बलबहादुर कार्की र मादी नगरपालिका–४ कि २८ वर्षीया सबिता कार्की रहेका छन् ।

मादी नगरपालिका–५ का ४८ वर्षीय दीपककुमार दाहाल, मादी नगरपालिका–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी नगरपालिका–४ का आइतबहादुर तामाङ, मादी नगरपालिका–५ का उमेश भट्टराई ( सह–चालक), तेह्रथुमको फाक्चामाराका ३१ वर्षीय विपिन निरौला (चालक), ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र ताप्लेजुङका ८ वर्षीय सुदीप घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनाको खबरले आफू मर्माहत भएको जनाएका छन् ।

देउवाले शोक सन्देन्देश जारी गरेर दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनामा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देउवाले घाइतेहरूको उचित उपचारको प्रवन्ध गर्न सम्वन्धित निकायलाई निर्देशन दिइसकेको जनाएका छन् ।

Published : Thursday, 2022 March 10, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया