चुनावी गठबन्धनको निर्णय कांग्रेसको केन्द्रीय समितिले गर्छ : उप–सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन तथा कार्यसमितिले चुनावी गठबन्धनका बारेमा निर्णय गर्ने बताएका छन् ।

बुधबार पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उप–सभापति खड्काले स्थानीय तहको निर्वाचनमा पनि सहयात्री दलहरूको चित्त बुझाएरै अघि बढ्ने सभापति शेरबहादुर देउवाको चाहना रहेको बताएका हुन् ।

‘तालमेल गर्ने वा नगर्ने विषयमा केन्द्रीय कार्यसमितिले समग्र परिस्थितिको मूल्यांकन गर्छ’, उनले भने, ‘चुनावमा कसरी जाने भनेर उद्देश्य र रणनीति तयार पारेर जान्छ ।’

उनले अहिले नै गठबन्धन गर्ने वा नगर्ने भन्नेमा कांग्रेस प्रवेश नगर्ने बताएका छन् ।

‘अहिले नै गठबन्धन गर्नुपर्छ र गर्नुपर्दैन भन्नेमा कांग्रेस प्रवेश गर्दैन’, उनले भने, ‘अहिले आफ्नो कार्यक्रम लिएर जाँदैछ ।’

कांग्रेसले एक महिने अभियानका लागि आफ्ना केन्द्रीय सदस्य र पूर्व केन्द्रीयहरूलाई ७७ जिल्लामा खटाएको छ ।

त्यहाँ उनीहरुले चुनावी रणनीति तय गर्ने, जिम्मेवारी दिने मात्रै होइन एक महिनापछि फर्केर आउँदा कांग्रेसको अवस्थाबारे जानकारी समेत लिएर आउनेछन् ।

कांग्रेसले त्यसपछि मात्रै केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठक राख्नेछ ।

बैठकमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले जिल्लाका यथार्थ बताएर सम्भावित रणनीतिबारे सुझाव समेत दिनेछन् ।

Published : Wednesday, 2022 March 9, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया