सिटामोलसहितका औषधि अभाव हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । कोरोना महामारीमा सिटामोल अभाव भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायतका औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

बुधबार देउवाले गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकर बैरागीलाई बालुवाटारस्थित सरकारी निवासमा बोलाएर सिटामोलसहितका औषधि अभाव भएको विषयमा जानकारी लिएका हुन् ।

उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

बजारमा सिटामोल अभाव छ । सरकारी निकायले समेत सिटामोल पाएका छैनन् । मूल्य वृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ ।

गृहमन्त्री खाणका अनुसार प्रधानमन्त्री देउवाले औषधिको उत्पादन क्षमता बढाउन निर्देशन दिएका छन् ।

नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेको खाणले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले औषधि आपूर्ति व्यवस्थाको अनुगमन गर्ने उनले बताए ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीब्र पार्न निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सिटामोललगायत औषधि अभाव हटाउन प्रक्रिया सुरु गरिसकिएको बताएका छन् ।

Published : Thursday, 2022 January 20, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया